Sajhamanch Archive

‘कोरोना नियन्त्रणमा सरकारको काम उराठलाग्दो होइन, उत्साहजनक’

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको काम उत्साहजनक भएको दाबी गरेका छन् । कोभिड-१९ संक्रमण नेपालमा देखिनु अगाडि र अहिले उपचार पूर्वाधार तथा क्षमतामा आकास र जमिनको फरक रहेको उनले बताएका छन् ।

संविधान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीलाई सरकारले चुनौतीका रुपमा नभई अवसरको रुपमा लिएको र बजेटमार्फत स्वास्थ्य पूर्वाधार खडा नगर्ने योजना कार्यान्वयनमा ल्याएको बताएका छन् ।

उनले भनेका छन्, डिलमा बसेर आलोचना थर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको समिक्षा गर्ने हो भने अहिलेसम्मको कामको तस्वीर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छ ।’

९ माघ २०७६ मा कोभिड-१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण देशभित्रको प्रयोगशालामा सम्भव नभएर नमूना विदेश पठाउनु परेको तर अहिले देशभर ४७ आरटी-पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ ।’

जनसंख्याको कम्तिमा २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको उनले बताए । आईसीयू बेड क्षमता १५५१ बाट २६०० र भेन्टिलेटर ७७० बाट ९०० पुर्‍याइएको उनले बताए ।

‘पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ । प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ’ उनले भने ।’ स्वास्थ्य मन्त्रालयअन्तर्गत १०० जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको भन्दै उनले भने, ‘२५ हब अस्पताल र २० शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीम तयारी अवस्थामा छ ।’

कोभिड-१९ का लक्षण तथा रोकथामका उपायहरुबारे जानकारी भएको, केस व्यवस्थापनका लागि आवश्यक पिपिई सहितका सामग्रीहरु उपलब्ध रहेको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भनेका छन्, ‘पहिले परम्परागत औषधि आदिका बारेमा द्विविधा थियो, अहिले हाम्रा जडिबुटी र परम्परागत वस्तुहरुको प्रयोगबाट आफू निको भएको भनेर कतिपय संक्रमितहरुका अनुभव पनि सुन्न थालिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *