Sajhamanch Archive

सरकारको सहुलियत पसलमा पाइएन चिनी

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी बिक्री नगरिएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । बजारमा चिनीको मूल्य महँगो भएपछि उपभोक्ता चिनी खोज्न सहुलियत पसल पुगेका छन् । तर, सहुलियत दरको पसलमा चिनी नै छैन ।

असोज १५ गतेबाट सञ्चालनमा ल्याइएको सहुलियत पसलमा ७० रुपैयाँ प्रतिकिलोमा चिनी पाइने बताइएको थियो । बजारमाभन्दा सस्तोमा चिनी पाइने भन्दै सर्वसाधरण सुपथ मूल्य पसल पुग्दा रित्त फर्किरहनुपरेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो ९० देखि एक सय रुपैयाँसम्म छ ।

सरकारसँग मौज्दात नभएकाले बिक्री गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । साल्ट ट्रेडिङले खरिद गरेर ल्याएको चिनी आइपुग्ने आशमा चिनीको बिक्री मूल्य तोकिएपनि चिनी आई नसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

साल्ट ट्रेडिङले खरिद गरेको २० हजार मेट्रिकटन चिनी अझै नआईपुगेको र खाद्यले थालेको खरिद प्रक्रिया अझै नटुंगिएको सुवेदीले बताइन् ।

सहुलियत पसलमा चिनी अभाव रहेपनि चामल, सिमी, नुन, फापर, केराउ र दुग्ध विकास संस्थानको घिउको बिक्री राम्रो रहेको संस्थानले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयोजनमा दूग्ध विकास संस्थान र साल्ट ट्रेडिङ वस्तु समेत राखेर देशभर ४६ भन्दा धेरै सुपथ मूल्य पसल असोज १५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *