Sajhamanch Archive

नारी सञ्चार गृह झापामा नयाँ नेतृत्व सर्वसम्मत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नारी सञ्चार केन्द्र झापाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि भीमा शिवाकोटीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रेजिना गौतम, सचिवमा भूमिका सुब्बा, सहसचिवमा शुसिला संग्रौला र कोषाध्यक्षमा जोस्ना श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा भारती राई, सुनिरा मैनाली, पुष्पा लिम्बू, टिका पोखरेल, शुष्मा तिखत्री र शिला उप्रेती चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले दवेका, लुकेका, समानताका आवाजहरु उजागर गर्नुपर्ने बताउँदै नेपालको महिला मुक्ति अभियानका आवाज बुलन्द गर्न नारी सञ्चार गृह सारथी हुने विश्वास व्यक्त गरेकी छन् ।


कार्यक्रममा राज्यमन्त्री गजमेरले हिंसामा संलग्नलाई कारवाही गर्ने, दण्ड र सजाय सम्बन्धी कानून बनेको भएपनि अपराधीहरु शक्तिको आडमा दवाउन चलखेल हुने गरेको चर्चा गर्दै चलखेल गर्नेको सक्कली रुप उजागर गर्नका लागि सञ्चारकर्मीहरुको कलम चल्नुपर्नेमा जोड दिएकी छन् । महिला पत्रकारलाई अझै पनि प्रोत्साहन गर्न जरुरी रहेको उल्लेख गर्दै आफूले पनि त्यसमा सहयोगी भूमिका खेल्ने आश्वासन दिएकी छन् ।

नारी सञ्चार गृहका अध्यक्ष अम्बिका भण्डारी र नवनिर्वाचित अध्यक्ष भीमा शिवाकोटीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग गर्ने दाताहरुलाई आभारपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवाकोटीलाई निवर्तमा अध्यक्ष अम्बिका भण्डारीले बैठक पुस्तिका हस्तान्तरण गर्दै पदस्थापन गराइन् । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शिवाकोटीले संस्थाले लक्ष्य राखेको अक्षयकोषको लक्ष्य प्राप्तीका लागि पहल गर्ने, सञ्चार माध्यमहरुमा महिला मैत्री सामग्री सम्प्रेण तथा उत्पादका लागि समन्वय गर्ने, पत्रकारको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाएकी छन् ।

निर्वाचन समितिका संयोजक सावित्रा दाहालले नव निर्वाचित समितिको नामावली घोषणा गरेकी थिइन् स्वस्तिका आचार्यले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । यसअघि संस्थाको सम्पन्न बन्द सत्रले संस्थाका सचिव रेजिना गौतमद्वारा प्रस्तुत संस्थाको संस्थागत प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

यसअघि आठौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले महिलाको श्रमको अझै पनि सही मूल्याङ्कन हुन नसकेको बताउँदै चुनौतीका बाबजुद महिला पत्रकारहरु तथा राजनीतिकर्मी महिलाको सक्रियता उदाहरणीय रहेको बताइन् ।

संस्थाका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक, राजनीतिक, पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले आ–आफ्ना भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *