Sajhamanch Archive

‘हामी बाचे भोलिका दिनमा चाडपर्व मनाउन र आशीर्वाद ग्रहण गर्न पाइन्छ ’: प्रदेश प्रमुख अधिकारी

Published: in प्रदेश तह, समाज by .

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कोरोनाको कहरबाट सबैलाई मुक्ति मिलोस् भन्ने कामना गरेका छन् । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली, छैठ लगायतका पर्वको अवसरमा शुभकामना दिँदै अधिकारीले कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा चाडपर्व मनाउँदा सावधानी अपनाउनुपर्ने र स्वास्थ्यलाई ख्याल गर्नुपर्ने विषयमा पनि जोड दिएका छन् ।

कोरोना भाइरसले आक्रान्त पारिरहेका बेला चाडपर्व मनाउँदा अत्यन्तै सजग हुनुुपर्नेमा उनको जोड छ । ‘हाम्रो सानो लापर्वाहीले ठूलो जोखिम सृजना हुनसक्छ,’ शनिबार उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘हामी बाचे भोलिका दिनमा चाडपर्व मनाउन र आशीर्वाद ग्रहण गर्न पाइन्छ ।’

अधिकारीले आशीर्वाद ग्रहणका लागि घरमै बसी सञ्चारका साधन र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने सुझाव उनले दिएका छन् । चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न, क्षेत्रक्षेत्र, जातजाति र समुदायमा भातृत्व कायम गर्न, सकरात्मक सोंचसहित पारस्पारिक सहयोग, सद्भावसहित समृद्ध सुस“स्कृत समाज निर्माणमा सहयोग पुगोस् भन्ने शुभेक्षा उनले प्रकट गरेका छन् । चाडपर्वले आपसी सामाजिक सदाचार, मेलमिलाप, भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास प्रदेश प्रमुख अधिकारीको छ ।

राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय हित तथा स्वभिमान कायम राख्दै एकताको सूत्रमा आवद्ध सबै नेपालीहरूलाई आ—आफ्नो साँस्कृतिक परम्परालाई अक्षुण्ण राखी उच्च सचेतनका साथ सभ्य र भब्य रूपमा चाडपर्व मनाउन सबैमा उनले आग्रह गरेका छन् । अधिकारीले प्रदेशकासहित सम्पूर्ण नेपालीमा सु—स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *