Sajhamanch Archive

‘हटस्पट’ राजधानी काठमाडौंमा कोरोना परीक्षण रोकियो, पैसा नतिरी जाँच नहुने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोरोना संक्रमणको ‘हटस्पट’ राजधानी काठमाडौं उपत्यकामा मंगलबारबाट कोरोना परीक्षण स्थगित भएको छ ।

यसअघि कन्ट्याक्ट ट्रेसिङका आधारमा काठमाडौं र ललितपुर महानगरपालिकाले निःशुल्क रूपमा पीसीआर परीक्षण गर्दै आएको थियो ।सरकारले ९ वर्गका व्यक्तिबाहेक अन्यको शुल्क लिएर मात्रै पीसीआर परीक्षण गर्न निर्देशन दिएपछि राजधानीको पीसीआर परीक्षण स्थगित भएको छ । यसअघि कामपाले दैनिक झण्डै ५०० र ललितपुरले २०० को हाराहारीमा पीसीआर परीक्षण गर्दै आएका थिए ।कामपा शहरी जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले सरकारले निःशुल्क पीसीआर नगर्न निर्देशन दिएपछि मंगलवारबाट परीक्षण रोकिएको जानकारी दिए । उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङमा परेका ९ प्रकारका व्यक्तिबाहेक अन्यको पीसीआर परीक्षण गर्ने छैनौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको मापदण्डअनुसार आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उल्लेख छ ।ती बाहेकका सबै व्यक्तिले सरकारले निर्धारण गरेको शुल्क तिरेर पीसीआर परीक्षण गर्नुपर्नेछ । ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले सरकारको निर्देशनअनुसार मंगलबारबाट निःशुल्क पीसीआर परीक्षण बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘सरकारले त्यस्तै निर्देशन गरेको कारण पीसीआर परीक्षण बन्द गरेका छौं ।’ तर कन्ट्याक्ट ट्रेसिङलाई निरन्तरता दिएको उनको भनाइ छ ।ललितपुर महानगरपालिकाले हालसम्म ५ हजार ३५१ जनाको पीसीआर परीक्षण गरिसकेको छ । तीमध्ये ५५८ जनालाई संक्रमण पुष्टि भएको गुरुङले जानकारी दिए ।कामपाका कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले पीसीआर परीक्षण नगरेपछि कोभिड संक्रमितको अवस्था, संक्रमितसँग नजिक भएकाहरूको क्लोज कन्ट्याक्ट ट्रेसिङ लगायतका काम जारी रहेको बताए ।

तथ्यांक अनुसार कामपाले सोमवारसम्म सबै वडामा २२ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण गरेको थियो । तीमध्ये ३ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो ।अब निःशुल्क पीसीआर परीक्षण बन्द भएपछि राजधानीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले मंगलवारबाट निःशुल्क परीक्षण रोकेका छन् ।

जिल्ला जनस्वाथ्य कार्यालय लतिपुरका प्रमुख खगेश्वर गेलालले मंगलवारबाट निःशुल्क पीसीआर परीक्षण बन्द भएको जानकारी दिए ।उपत्यकाका तीनै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयले टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विभिन्न सरकारी अस्पतालमा पीसीआर परीक्षण गराउने गरेका थिए । मापदण्डमा परेका व्यक्तिबाहेक अन्यको पीसीआर परीक्षण रोकिएपछि उपत्यकामै संक्रमण बढ्ने खतरा बढेको छ ।ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत गुरुङले सरकारले अर्को निर्णय नगरेसम्म निःशुल्क परीक्षण बन्द गरेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई पत्र पठाएर निःशुल्क परीक्षण नगर्न निर्देशन दिएपछि उपत्यकाको स्वाब परीक्षण पूर्णरुपमा प्रभावित भएको छ ।

कामपाका कोभिड सम्पर्क अधिकृत ओलीले सरकारले गरेको निर्णयअनुसार हाललाई सबै वडामा निःशुल्क परीक्षण बन्द गरेको जानकारी दिए । कामपाले कोरोना संक्रमण शुरु भएदेखि नै वडास्तरबाटै परीक्षण गरिरहेको थियो । कामपा शहरी जनस्वाथ्य विभाग प्रमुख कुँवरले अर्को निर्णय नभएसम्म मापदण्डमा परेकाबाहेक अन्यको परीक्षण रोकिएको स्पष्ट पारे । पछिल्लो तथ्यांक अनुसार देशभर हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । नेपाल समाचारपत्र दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *