स्थानीय सरकार हिंसा पीडितको सुरक्षाका लागि सम्वेदनशील नभएको सरोकारवालाहरुको आरोप
Published:
by .भद्रपुर । झापाका स्थानीय सरकार हिंसा पीडितको सुरक्षाका लागि सम्वेदनशील हुन नसकेको सरोकारवालाले आरोप लगाएका छन् ।
लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्र्तगत गैर सरकारी महासंघ झापा तथा एस एन जेडीको आयोजनामा चन्द्रगढीमा सम्पन्न झापा जिल्लामा लैंगिक हिंसाको अवस्था विषयक अन्र्तक्रियामा सहभागीहरूले स्थानीय सरकार हिंसा पीडितको सुरक्षाका लागि सम्वेदनशील हुन नसकेको आरोप लगाएका हुन् ।
घर, परिवार तथा आफन्तबाटै लैंगिक हिंसाको शिकार भएर बस्न नसक्ने अवस्थाका नागरिकहरूको सुरक्षाका लागि सुरक्षित आवासको समेत व्यवस्थापन गर्न स्थानीय सरकारले बेवास्ता गरेको अधिकारकर्मीहरूको गुनासो रहेको छ । कार्यक्रममा अधिकारकर्मी विष्णुप्रसाद खरेल, रेखा अधिकारी लगायतले धारणा राख्दै तीन तहका सरकार रहेको भए पनि लैंगिक हिंसामा परेर पीडित भएकाहरूको सुरक्षा दिने दायित्व कुनै पनि सरकारले नलिँदा समस्या आइपरेको गुनासो पोखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाले घर भित्रै हुने गरेका लैंगिक हिंसालाई लुकाउने परिपाटी अन्त्य नभएसम्म हिंसा पीँडितले न्याय पाउन नसक्ने भन्दै जस्तासुकै हिंसा गर्नेलाई पनि कानुनी दायरामा ल्याउने प्रष्ट पारेका थिए ।
गैर सरकारी महासंघ झापाका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, रेडक्रस झापाका सभापति लोकराज ढकाल लगायतले मन्तव्य राख्दै परम्पराका नाममा हिंसा सहनु नहुने धारणा राखेका थिए ।
Comments