Sajhamanch Archive

साहित्यकार दाहाल, असल कृषक खतिवडा र कुशल गृहिणी बराल धाइजनमा पुरस्कृत

Published: in मुख्य समाचार, समाज by .

झापा । लाल–भागिरथा प्रतिष्ठानले आज एक समारोहबीच साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिका अभियन्ता डिल्ली खतिवडा र कुशल गृहिणी आमा यशोदा बराललाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानको कार्यालय रहेको मेचीनगर–११ बानियँ गाउँमा विशेष कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले तीनैजना प्रतिभालाई जनही ३१ हजार रुपैयाँको नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै समाजमा योगदान पुर्याउने असल प्रतिभालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले आफू पनि किसानको छोरो भएको र यो कार्यक्रम सकेर कुटो कोदालो बोकेर खेतीमा जानुपर्ने काम भएको जनाउँदै मुलुकमा व्यवस्था नयाँ आए पनि कर्मचारीको काम गर्ने प्रवृत्ति पुरानै भएकोले आम जनताले परिवर्तनको अनुभूति गर्न नपाएको धारणा राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, अग्रज पत्रकार चन्द्र भण्डारी, साहित्यकार तेजराज खतिवडा (तेराख), प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, पूर्व प्रधानाध्यापक हरिनारायण भट्टराई, मेचीनगर ११ का वडाध्यक्ष सन्तोष मेचे र पुरस्कृत साहित्यकार मित्रप्रसाद दाहालले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष प्रेमप्रसाद बानियाँले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा गत वर्ष पहिलोपल्ट पुरस्कृत कृषक एवम् राजनीतिक योद्धा भीम कुँवर र दिपीका बानियाँले कविता बाचन गरेका थिए । कार्यक्रमको सहजीकरण डम्बरबहादुर देउजाले गरेका थिए ।

पुरस्कृत प्रतिभाहरुबारे संक्षिप्त चिनारीः

कनकाई निवासी साहित्यकार मित्रप्रसाद दाहालले ४ वटा महाकाब्यसहित दर्जन बढी बहुविधाका कृति प्रकाशित गरिसकेका छन् ।

अर्जुनधारा निवासी पुरस्कृत गृहिणी यशोदा बरालले २०३० सालमा पञ्चायती सरकारद्वारा हात्ती लगाएर घर भत्काउन लगाएपछि आफ्नै बलबुता र मिहेनतबाट छोराछोरीलाई उच्च शिक्षा, सामाजिक सेवा र निमुखाका लागि न्याय दिलाउन साहसिक योगदान गरेकी थिइन् ।

मेचीनगर निवासी पुरस्कृत कृषक डिल्ली खतिवडाले हाल ७ कठ्ठा जग्गामा फोहोरबाट मल बनाउने डिकम्पोजर प्रविधिबाट अग्र्यानिक मल र अग्र्यानिक औषधि उत्पादनसहित तरकारी खेती गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *