मनकारी सागरले विचल्लीमा परेको राई परिवारलाई घरमै लगे
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीको दूधेबाट एक परिवारलाई उद्धार गरिएको छ । साँझको समयमा चिसोमा एक सरो लुगा मात्र लगाएका एक विपन्न परिवार अल्मलिएको देखेपछि शिवसताक्षीका एक युवाले उनीहरुलाई उद्धार गरेका हुन् । शिवसताक्षीका युवा सागर आचार्यले ती विपन्न परिवारलाई गएको १७ गतेदेखि चिल्लागढ स्थित आफ्नै घरमा लगेर राखेका छन् ।
मोरङको कानेपोखरी स्थित एक घरमा भाडा बस्दै आएको भीम बहादुर राईको परिवार विचल्लीमा परेको हो । आफु भाडामा बस्दै आएको घर बेचेपछि उनीहरु विचल्ली परेका हुन् । साहुले घर बेचे र हामीलाई घर खाली गर्न उर्दी गरे त्यस पछि कता जाने भन्दै हामी पुर्व तिर लाग्यौ, भीमबहादुरले भने ।
बस्नका खालि घर खोज्दै झापाको दूधे आइपुगेको उनले बताए । दूधे आइपुग्दा साँझ परेको थियो । कहाँ बस्ने ठेगाना थिएन, कता जाने भन्दै अलमलमा थियौ । राई भने , सागर भाईले हाम्रो सोधीखोजी गरेपछि आफ्नै घर लिएर आउनु भयो ।
साँझ पख चिसोमा पातलो कपडा लगाएका साना छोरा छोरीसहित अलमलमा परेको देखेपछि उहाँहरुको सोधी खोजी गरी परिस्थिति बुझेर सबै परिवारलाई आफ्नो घर लगेको सागर आचार्यले बताए । सुखमा हुँदा सबैको हाइ हाई हुन्छ तर कोही मानिसलाई दुःख पर्दा ऊ एक्लै भौतारिन्छ । त्यसैले दुःखमा परेको मानिसको सेवा गर्नु नै धर्म ठानी उहाँहरुलाई मैले आफ्नै घर लगेको हुँ सागरले भने । राई परिवारलाई अब यही जिविका पार्जनको लागि कामहरु खोजी दिने सागरले बताए ।
राई परिवार कानेपोखरीमा कृषि मजदुरका रुपमा काम गर्थे । बाँस जन्य बस्तुबाट उत्पादन गरिने सामाग्रीहरु पनि बनाएर परिवार पाल्दै आएको भीमबहादुरले बताए ।
हाल विचल्लीमा परेको राई परिवारका लागि सागरको पहलमा दूधे युवाहरुले विहान बेलुका छाक टार्नको लागि सामाग्री जुटाइदिएका छन् ।
स्थानीय युवाहरु शक्तीमान थाम्सुहाङ,रोशन कठायत,पुरन सुब्बा,तपन गुरुङ लगायतको समुहले उनिहरुलाई खानाको चामल,दाल,नुन,तेल लगायत अन्य आवश्यक सामाग्री खरिद गरिदिएका हुन् ।
दुधेका मनकारी युवाले राई परिवारका छोरा छोरीको शिक्षा दिक्षाका लागि पनि पहल गर्ने बताएका छन् । उनिहरुलाई आत्मनिर्भर बन्नका लागि शिप सिकाउने अर्थात पशुपंक्षी पालनमा अग्रसर गराउने स्थानीय तपन गुरुङ्गले बताए ।
Comments