Sajhamanch Archive

कांग्रेसद्वारा २९ गते गर्ने देशव्यापी प्रदर्शनको तयारी तीब्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवर्धनसहितका माग राख्दै आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको घोषणा गरेको नेपाली कांग्रेसले यसको तयारी तीब्र पारेको छ ।

केन्द्रीय निर्देशनमा ७७ वटै जिल्लामा गरिने प्रदर्शनको तयारी झापामा पनि तीब्र पारिएको हो । प्रदर्शनको तयारीस्वरुप आज झापाका भातृ तथा शुभेच्छुक संघ–संस्थाहरुको जिल्लास्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस झापा मातहत रहेको भातृसंस्था समन्वय समितिका संयोजक देउकुमार थेवेको सभापतित्वमा सम्पन्न भेलाले आ–आफ्नो पहिचान झल्कने झण्डा र ब्यानरसहित प्रदर्शनमा सहभागिता जनाउने निर्णय गरेको छ ।

प्रदर्शनको तयारीका लागि झापाका १५ वटै स्थानीय तहका १३१ वटै वडामा वडाभेला सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको गत २१ गते सम्पन्न बैठकले वडातहमा खटाएका जिल्ला प्रतिनिधिको सहभागितामा वडा कार्यसमितिको बैठक तथा भेला सम्पन्न भएको हो ।

कनकाई नगरपालिकाको सुरुङ्गाबाट शुरु भई सदरमुकाम केन्द्रित हुने प्रदर्शनको पूर्वतयारीका लागि बसेको बैठकले सम्पूर्ण क्रियाशील सदस्य तथा आम लोकतन्त्रप्रेमी महानुभावमा सहभागिताका लागि अपील पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *