मन्त्री नेम्वाङद्वारा झापाका रुग्ण तीन पूलको स्थलगत अनुगमन
Published:
by .झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले झापामा निर्माणाधिन तीनवटा पूलको आज स्थलगत अनुगम गरेका छन् ।
रुग्ण अवस्थामा रहेका विरिङ खोला, माईखोला र झापा–मारेङको सिमानामा रहेको रतुवा पूलको मन्त्री नेम्वाङले अनुगमन गरेका हुन् ।
पूलहरुको निरीक्षणसँगै मन्त्री नेम्वाङले स्थानीय बासिन्दा, स्थानीय तहका जनप्रतिनिधिहरु सँगसमेत छलफल गरेका उनका प्रेस संयोजक सन्दिप राइले बताएका छन् ।
अनुगमनको क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले लामो समयदेखि रुग्ण भएकाले अनुगमनका लागि आएको र उक्त पूलहरुको निर्माण कार्य अगाडि बढाउन कार्ययोजाना बनाएर अघि बढ्न निर्देशन दिने बताए ।
उनले उक्त आयोजनाहरु रुग्ण भएकै कारण आफूले मन्त्रालय मातहत कार्यान्वयन गर्ने मन्त्रालयका सचिव, महानिर्देशकसहित अनुगमन गराएको बताए । उक्त आयोजनाहरुको अनुगमन गर्दै आयोजनाका ठेकेदारहरु र मातहतका निकायलाई विकास निर्माणका कामलाई सुस्त गरेर नहुँने भन्दै कार्ययोजना बनाएर अगाडि बढ्न मन्त्री नेम्वाङले निर्देशनसमेत दिएको जनाइएको छ ।
हुलाकी राजमार्गमा पर्ने तीनवटै पूलको अनुगमनमा मन्त्री नेम्वाङसहित झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद एलपी सावाँ, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागमा महानिर्देशक केशवकुमार शर्मा र हुलाकी राजमार्ग आयोजना प्रमुख रोहित विसुराललगायत स्थानीय पालिका प्रमुखसमेत सहभागी थिए ।
Comments