प्रदेश १ मा चार महिनामा २१ सय अपराध
Published:
by .बिराटनगर । प्रदेश १ मा चालू वर्षको पहिलो चौमासिकमा दुई हजार एक सय सातवटा अपराधका मुद्दा दर्ता भएका छन् । चालू वर्षको पहिलो चौमासिकको साउन, भदौ, असोज र कात्तिक महिनामा प्रदेश १ भरि जम्मा दुई हजार एक सय सातवटा अपराधका मुद्दा दर्ता भएका हुन् । प्रदेश १ मा आर्थिक वर्ष ०७६र७७ को पहिलो चौमासिकमा २५ सय १५ र आर्थिक वर्ष ०७५र७६ मा २३ सय ३८ वटा अपराधका मुद्दा दर्ता भएका थिए ।
११ करोड ५५ लाख राजस्व संकलन
प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा विभिन्न आपराधिक घटनाबाट कुल ११ करोड ५५ लाख ६८ हजार सात सय ९९ रुपैयाँ राजस्व संकलन भएको छ । चार महिनाको अवधिमा प्रदेश १ मा एक सय ९३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट तीन सय वर्ष कैद भुक्तान भएको छ । साउनदेखि कात्तिकसम्ममा प्रदेश १ मा एक करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ जरिवाना असुलउपर भएको छ ।
साउनदेखि कात्तिक महिनासम्ममा प्रदेश १ मा भन्सारछली आरोपमा ३८ जना मानिस पक्राउ परेका छन् । भन्सारछली गरिएका मालवस्तुबाट पाँच करोड ५५ लाख ५३ हजार एक सय ९० रुपैयाँ राजस्व संकलन भएको छ ।
नदी दोहन गर्ने ९६ पक्राउ
नदीजन्य पदार्थको अवैध रूपमा दोहन गर्ने ९६ जना मानिस र चार सय ८९ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारीसाधनलाई पक्राउ गरिएका छन् । जसबाट ३१ लाख पाँच हजार ६४० राजस्व संकलन भएको छ । यसैगरी, अवैध काठ चोरीनिकासी गर्ने ३३ जना मानिस र १२ सय ८४ क्युफिट काठ बरामद भएको छ । जसबाट १४ लाख नौ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने ७१ हजार नौ सय ६९ वटा सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट चार करोड ४३ लाख ९४ हजार राजस्व संकलन भएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले प्रदेशका सबै एकाइहरूमा कार्यसम्पादन मूल्यांकन प्रक्रिया लागू गराएपछि आपराधिक घटना दर्ता, फैसला कार्यान्वयन, भन्सार चोरीनिकासी र नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरीनिकासी नियन्त्रण र ट्राफिक व्यवस्थापनमा प्रभावकारी सुधार आएको प्रवक्ता डिएसपी कवीन्द्र कार्कीको दाबी छ ।
नयाँ पत्रिका
Comments