Sajhamanch Archive

स्थायी कमिटी वैठकपछि मात्र संसद विघटन सिफारिसबारे निर्णय लिने तयारीमा राष्ट्रपति

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन विघटनका लागि गरेको सिफारिसबारे राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकपछि मात्रै निर्णय गर्ने भएकी छन् ।

आजको स्थायी कमिटी बैठक निकै महत्वपूर्ण भएको हुँदा त्यसको निर्णयपछि मात्र राष्ट्रपतिले संसद विघटनको सिफारिसबारे निर्णय लिन तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । राष्ट्रपति कार्यालय स्रोत भन्छ, ‘स्थायी कमिटी वैठकले के निर्णय गर्छ त्यसमा चासो रहेको छ । राष्ट्रपति भण्डारीबाट त्यसपछि मात्र संसदबारे सूचना जारी हुनेछ ।’

राष्ट्रपतिले आजै बस्न लागेको स्थायी समितिको बैठक, त्यहाँ नेताहरुबाट आउने धारणाहरु र त्यसको निर्णय पर्खिरहेको स्रोतको भनाइ छ ।

‘प्रधानमन्त्रीबाट सिफारिस आएको छ । आजै नेकपा स्थायी कमिटीको बैठकपनि रहेको छ । त्यो पनि निकै महत्वपूर्ण छ । त्यसले के निर्णय गर्छ । त्यसको पनि प्रतिक्षा छ,’ राष्ट्रपति शितल निवास स्रोतले भन्यो, ‘राष्ट्रपतिज्युबाट त्यसपछि मात्रै सिफारिसको विषयमा केही हुन्छ ।’

यसअघि पनि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद अध्यादेश ल्याएका थिए । प्रधानमन्त्रीले सत्तारुढ दल नेकपा र आफ्नै मन्त्रीहरुलाई समेत जानकारी नदिई ल्याएको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै स्वीकृत गरेकी थिइन् ।

स्थायी कमिटीको बैठक अपरान्ह एक बजेका लागि बालुवाटारमा बोलाइएको छ । अहिले नेकपाका नेताहरु वैठकका लागि बालुवाटारमा भेला भइरहेका छन् । आजको वैठकमा नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन्छन् कि हुँदैनन् भन्ने अझै अन्योल छ । यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका नेताहरु भने आजको स्थायी कमिटी वैठकमा ओलीमाथि अनुशासनको कारवाहीबारे पनि कुरा हुने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *