Sajhamanch Archive

राष्ट्रपति सीको सन्देश लिएर काठमाडौं आइपुग्यो चिनियाँ उच्च अधिकारीको टोली

Published: in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । नेपालमा संसद विघटन र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजनपछिको परिस्थिति र यसका कारण बुझ्न छिमेकी देश चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं ओर्लिएको हो । सो टोली एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टोलीले चिनियाँ राष्ट्रपतिको सन्देश लिएर आएको हो ।काठमाडौं विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएर आएका थिए ।

काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ । कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन ।

नेपालमा चार दिन रहने टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने जनाइएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले यहाँ रहँदा सत्ता पक्षको नेकपा र सत्ता बाहिरको नेकपाका दुवै टोलीका शीर्षस्थ नेताहरूसँग भेटघाट गर्ने र त्यसका लागि समय लिने काम भएको छ’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरू ग्राउन्डमै आएर नेकपा विभाजनको अवस्था के रहेछ भनेर बुझ्न खोज्नु भए जस्तो लाग्छ ।’

ओलीको कदमपछि नेकपामा आएको विभाजनले चिन्तित देखिएको चीनले आफ्नो सक्रियता उत्तिकै बढाएको छ । नेकपा विभाजनको संघारमा चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँगको दौडधूप बाक्लो बनाइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू वर्षमान पुनदेखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन् ।

यी भेटमा नेकपाको अझै एकता कति सम्भव छ भन्ने उनको चासोको विषय थियो । अध्यक्ष दाहालसँग उनले नेकपाको एकता गराउन अब सम्भव छ–छैन भनी जिज्ञासा राखेकी खुमलटार स्रोतले बताएको छ । तर, दाहालले पार्टी विभाजन आफ्नो पक्षले नभई ओली पक्षले गरेको र एकता टाढा पुगिसकेको बताएको जनाइएको छ ।

यो विभाजनको कारणभित्र एमसिसीदेखि विआरआईसम्मलाई हेर्ने दृष्टिकोण र पश्चिमाहरूसम्मको नेपालमा भइरहेको चलखेल कारण रहेको विषयमा श्रृंखलाबद्ध रूपमा आफ्नो धारणा राखिदिएको स्रोतले बताएको छ ।

नेता गुओ ८ फागुन ०७४ मा पनि नेपालमा थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *