Sajhamanch Archive

पाथीभरा क्षेत्रको डढेलो फेरि फैलियो

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

ताप्लेजुङ । आंशिक नियन्त्रणमा आएको ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो फेरि फैलिएको छ। चार दिनदेखि लागेको डढेलो केही नियन्त्रणमा आएको थियो।

आइतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आंशिक रुपमा नियन्त्रणमा लिएको र मन्दिर आसपासको क्षेत्र खतरामुक्त देखिएको थियो। तर, सोमबार बिहानदेखि फेरि आगो सल्किएको हो। अहिले आगो मन्दिरको क्षेत्रमा पुगिसके पनि मन्दिर भने खतरामुक्त रहेको स्थानीय मिङ्मा शेर्पाले जानकारी दिए।

फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्मु सामुदायिक वनबाट सल्किएको आगो नियन्त्रणमा लिन चार दिनदेखि स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएका छन्। यता मानवीय प्रयासले आगो नियन्त्रणका लागि सम्भव नभएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए।

प्रजिअ चापागाईका अनुसार पाथीभरा मन्दिरलाई जोगाउन जिल्ला सदरमुकामबाट थप सुरक्षा जनशक्ति परिचालन गरिएको छ। आगलागी क्षेत्र मुख्यगरी लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिएको छ। आगलागीले बहुमूल्य जडीबुटीका बोटविरुवा नष्ट भएका छन्। यद्यपि, क्षतिको विवरण आउन सकेको छैन।

आगलागीको कारण समेत खुलेको छैन। आगलागीका कारण खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका बासिन्दा समस्यामा परेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *