संसद विघटनका विरुद्ध झापाका विभिन्न स्थानमा कांग्रेसद्वारा विरोध प्रदर्शन
Published: (Updated: )
by .बिर्तामोड । संसद विघटनको विरोधनमा नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन तथा विरोधसभा गरेको छ । देशब्यापी कार्यक्रम अन्तर्गत झापाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रस्तरीय विरोध प्रदर्शन र विरोध सभा सम्पन्न भएको हो । विरोध प्रदर्शन तथा विरोध सभाका अधिकांश बक्ताहरुले नेपालको राजनीतिक इतिहासमा २०१७ साल पुस १ र २०७७ साल पुस ५ गतेलाई ‘कालो दिन’ को संज्ञा दिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं –२ को आयोजनामा झापाको अर्जुनधारा नगरपालिका स्थित शनिश्चरे बजार, क्षेत्र नं–१ अन्तरगत मेचीनगरको धुलाबारी, क्षेत्र नं–३ मा कचनकवलको बनियानी, क्षेत्र नं–४ मा शिवसताक्षी स्थित दुधे बजार र क्षेत्र नं–५ को दमकमा बृहद विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको छ ।
झापा क्षेत्र नं–५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधानको संरक्षण अहिलेको प्रमुख दायित्व रहेको बताउँदै संविधानको रक्षापछि लोकतान्त्रिक विधि र पद्धतिबाटै ओलीलाई पाखा लगाउने धारणा राखे । “केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन अघि बाँडेका कुन चाहिं सपना पूरा गरे ?” नेता रिजालले प्रश्न गरेका थिए ।
यता झापा क्षेत्र नं–२ को विरोधसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले नेकपा भित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र लोकतान्त्रिक पद्धतिमाथि नै प्रहार गरेको बताउँदै उक्त असंवैधानिक कदम अस्वीकार्य रहेको बताए ।
अर्का वक्ता नेपालीकांग्रेस झापाका सभापति उद्वव थापाले सरकारको असंवैधानिक कदम र कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचारका विरुद्ध कांग्रेस सडकमा आएको बताउँदै भ्रष्टाचारको सबै हिसाव किताब सडकबाटै माग्ने उद्घोष गरे ।
यसैगरी झापा क्षेत्र नं–१ को धुलाबारीमा आयोजित विरोध सभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले वर्तमान सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको आरोप लगाउँदै असंवैधानिक काम गरेर जनमतको घोर अपमान गरेको आरोप लगाइन् । क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, नगर सभापति इन्द्र बुढाथोकी लगायतले बोलेका थिए ।
यसैगरी झापा क्षेत्र नं–३ कचनकबलको बनियानीमा विरोध सभा तथा प्रदर्शन सम्पन्न भएको छ । केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकले सम्बोधन गरेको विरोध सभामा महासमिति सदस्य द्वयभगिरथ पोद्धार र भुमीप्रसाद राजवंशी, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल आचार्य, प्रदेश सभापति चिन्तामणि खरेल लगायतले बोलेका थिए । क्षेत्र–३ं क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कालेन्द्रप्रसाद राजवंशीले गरेका थिए ।
यता झापा दुधे बजारमा ४ नं क्षेत्रस्तरीय प्रदर्शन र विरोध सभा सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी प्रमुख अतिथि तथा प्रमुख वक्ता रहेको कार्यक्रम क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपाली कांग्रेस झापाका संगठन विभाग प्रमुख देउमान थेवे, पूर्व सचिव भक्ति सिटौला, महिला संघ क्षेत्रीय सभापति कविता बस्नेत लगायतले मन्तब्य राखेको कार्यक्रममा स्वागत शिवसताक्षीनगर सभापति पर्शुराम ढुङ्गाना र सञ्चालन क्षेत्रीय सचिव शिव कडेलले गरेका थिए । अधिकांस क्षेत्रमा आयोजित विरोधसभाका वक्ताले प्रधानमन्त्रीलाई प्रतिगामी कदम सच्याउन माग गर्दै प्रतिनिधि सभा विगठनको असंवैधानिक कदमले मुलुकलाई ७५ वर्ष अगाडिको अवस्थामा लैजान खोजेको आरोप लगाएका थिए । नेपालको राजनीतिक इतिहासमा कांग्रेसकै नेतृत्वमा सडक संघर्षबाटै ठूल– ठूला परिवर्तन भएको बताउँदै वक्ताहरुले ओलीको असंवैधानिक कदम पनि सडकबाटै सच्याउने तागत नेपाली जनता र कांग्रेसमा रहेको उद्घोष गरेका थिए ।
Comments