तुर्सा हेमरमको २४औं स्मृति दिवस मनाइयो
Published:
by .बिर्तामोड । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेका तराइका नेता स्वर्गीय तुर्सा हेमरमको २४औं स्मृति दिवस मनाइएको छ । कनकाई नगरपालिका कार्यालय नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा स्मृति समारोह आयोजना गरिएको हो ।
कार्यक्रममा हेमरमको राजनीतिक योगदान र जीवनीबारे चर्चा–परिचर्चा गरिएको छ । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले साधा जीवन र उच्च विचार भएका तुर्सा हेमरमले वी.पी. को अत्यन्तै निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको सुनाए ।
सन्थाल समुदायमा जन्मिएका हेमरमले वी.पी. र नेपाली कांग्रेस झापाका पूर्व सभापति समाजवादी चिन्तक सि.के. प्रसाईका अत्यन्तै निकट रहेर राजनीति गरेको स्मरण गर्दै थापाले हेमरम प्रजातन्त्रप्रति निष्ठावान रहेको स्मरण गरे ।
झापा कांग्रेसका पूर्व उपसभापति समेत रहेका स्व. हेमरम वी.पी.का अन्त्यन्तै विश्वासपात्रमध्येका एक मानिने चर्चा गर्दै सभापति थापाले वी.पी.ले सबै जातजाति, भाषा–भाषी, वर्ग, क्षेत्र, लिङ्गको सहभागिता पार्टीमा गराएको बताए । ‘समावेशी सहभागिताको अनुपम नमूना वी.पी.को पालादेखि कांग्रेसमा थियो र अहिले पनि छ’ सभापति थापाको भनाई छ ।
प्रजातान्त्रिक योद्धा तथा तुर्साका समकालीन नेता सुरेश बास्केले हेमरमको जीवनीबारे चर्चा गरेको कार्यक्रममा उपस्थितहरुलाई प्रेममुनी मुर्मुले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिव कडेलले गरेका थिए ।
वि.सं. १९८० सालमा जन्मिएका तुर्सा हेमरमको वि.सं. २०५४ साल पुस २० गते निधन भएको थियो । झापाको शरणामतिमा हेमरमको स्थायी बसोबास रहेको थियो । प्रजातन्त्र सेनानी सम्मानसमेत प्राप्त गरेका हेमरम अत्यन्तै सामान्य परिवारमा जन्मिए पनि राजनीतिक चेत, विचार र संगठन गर्ने कार्यमा सबल रहेको उनका समकालीन नेताहरु बताउँछन् ।
Comments