Sajhamanch Archive

विराटनगरमा वायु प्रदूषण खतराको तहमा

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा वायु प्रदूषणको अवस्था खतराको तह ९रेड जोन० मा रहेको छ। काठमाडौंमा प्रदूषण अति खतरनाक विन्दुमा पुगिरहँदा विराटनगरमा पनि प्रदूषण खतराको तहमा पुगेको हो।

वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई ) देखि ५० सम्मलाई स्वास्थ्यका हिसाबले अति उत्तम मानिन्छ र ५० देखि १ सयसम्मलाई सामान्य मानिन्छ। १०१ देखि १५० सम्मलाई खतराको सीमामा र १५१ देखि २०० सम्मलाई ‘रेड जोन’ अर्थात स्वास्थ्यका हिसाबले खतरा रहेको भन्ने बुझिन्छ।

विराटनगरको एक्यूआई मंगलबार १९४ र बुधबार बिहान १६९ रहेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए। उनका अनुसार एक्यूआई उकालो लाग्नुनै वायु प्रदूषण बढ्नु हो। ठाकुरले केही दिनयता चिसो धेरै भएको, लामो समयदेखि वर्षा नभएको, धुलो र धुँवा अत्याधिक रहेको तथा सडक र उद्योग कलकारखानामा पनि ‘मुभमेन्ट’बढेकाले प्रदूषण खतराको तहमा पुगेको जानकारी दिए।

‘प्रदूषण खतराको तहमा छ। तह पार गरिनसकेकाले धेरै खतराको अवस्था चैं आइहालेको छैन’, उनले भने, ‘तर मौसम केहीदिन यस्तै रहने हो भने अति नै खतराको अवस्था पनि आउनसक्छ। अहिलेको अवस्थालाई सामान्य नठानिकन सबै सचेत रहनु राम्रो हुन्छ।’ ठाकुरका अनुसार प्रदूषणका हिसाबले अहिले विराटनगरका बासिन्दा खतराको विन्दुमा छन्।

केही दिनदेखि बादलले सूर्यलाई छेकेजस्तो विराटनगरको आकाश धुम्म छ। घाम लाग्न सकेको छैन। यसलाई विज्ञहरुले प्रदूषणकै असर भनेका छन्। बादल लागेर आकाश धुम्म भएकोभन्दा पनि प्रदूषणले यस्तो गराएको उनीहरुको भनाइ छ। वायु प्रदूषणको अवस्था पत्ता लगाउने ‘डिस्प्ले’ विराटनगर– ३ स्थित डिभिजन वन कार्यालयमा छ। संघीय सरकार अन्तर्गतको वातावरण विभागले गत वर्षको साउनदेखि वायु प्रदूषण मापन गर्ने ‘डिस्प्ले’ राखेको हो। यसअघि विराटनगर महानगरपालिकाको वातावरण महाशाखाले हेर्दै आए पनि अहिले त्यसलाई वन कार्यालयमा राखेर प्रदूषणको अवस्था मापन गर्ने काम भइरहेको छ।

सहायक वन अधिकृतसमेत रहेका ठाकुरले विशेष गरेर एक्यूआई गर्मी महिनामा कम र जाडो महिनामा बढी देखिने गरेको पनि बताए। विराटनगरमा बढ्दो सवारी चाप, उद्योग कल कारखाना र विकास निर्माणका कामबाट निस्किएको धुँवा धुलो, फोहोरमैला लगायतका कारणले पनि वायु प्रदूषण ह्वात्तै बढेको हुनसक्ने उनको भनाइ छ।

उनका अनुसार कोरोना भाइरसको संक्रमणका कारण गरिएको ‘लकडाउन’का बेला उद्योग कलकारखाना बन्द हुनुका साथै सवारी साधन नचलेकाले एक्यूआई कम थियो। पछिल्लो समय बढेको धुलो र धुँवाका कारण वायु मण्डलमा धेरै असर परेको ठाकुरले बताए। ‘यसरी प्रदूषण बढ्दै जाने हो भने जनस्वास्थ्यमा गम्भीर समस्या निम्तन्छ। विशेष गरेर वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा मुटु, दम लगायतका स्वास्थ्य सम्बन्धी पुरानो समस्या भएकाहरु बढी जोखिममा रहन्छन्,’ उनी भन्छन्, ‘सबैले सावधानी अपनाउनूको विकल्प छैन। वायु प्रदूषण बढाउने खालका गतिविधी कम गर्दै लैजानु पर्छ।’

प्रदूषण स्वास्थ्यका दृष्टिकोणले अतिनै जोखिम र हानिकारक हुने भएकाले गम्भीर बन्नुको विकल्प नभएको ठाकुरले दोहोर्‍याए। खस्किएको वायुले कोरोना संक्रमितलगायत श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरुलाई बढी असर पुर्‍याउने विज्ञहरुको भनाइ छ। ठाकुरले विशेष गरेर बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढ्ने गरेका कारण घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *