ओली समूहको नेकपा केन्द्रीय कमिटी सदस्य संख्या १,५०१ पुग्यो
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको अन्तरिम विधान संशोधन गरी केन्द्रीय कमिटीको संख्या १५०१ पुर्याएको छ । नेकपा एकता हुँदा ४४१ सदस्यीय कमिटीको थियो । त्यसमा चार जना पछि थपिएका थिए । तीन जनाको मृत्यु भएको थियो । आठ जना राजकीय जिम्मेवारीमा छन् ।
पुस ५ गते विभाजन भएपछि अन्तरिम विधान संशोधन गर्दै केन्द्रीय कमिटीको आकार १,५०१ सदस्यीय पुर्याएको ओलीले अन्तरपार्टी निर्देशनमार्फत भनेका छन् ।
तेस्रो केन्द्रीय कमिटी बैठक ९पुस ७–९० को निर्णय सर्कुलर गर्दै रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको बताइएको छ । पुस ९ गते सकिएको बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या एक हजार १९९ सदस्यीय पुर्याउने निर्णय गरेको जानकारी गराइएको थियो । ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । अपानि जारी गर्दा केन्द्रीय कमिटीको आकार अझै बढाइएको हो ।
‘अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई दिइएको कार्यकारी अधिकार उनले एकीकरणका बाँकी काम सम्पन्न गर्ने दायित्व पूरा गर्न नसकेको, पार्टीको एकता महाधिवेशनको तयारीका काम अगाडि बढाउन नसकेको तथा पार्टी एकतालाई सुदृढ गर्नुभन्दा विभाजनकारी गतिविधिलाई प्रश्रय दिएको हुनाले फिर्ता गरिएको छ । पार्टी अध्यक्षका सबै कार्यकारी अधिकार अब प्रथम अध्यक्ष कमरेड केपी शर्मा ओलीमा निहित रहनेछन्’, पुस २२ को मितिमा जारी गरिएको अपानिमा भनिएको छ ।
केन्द्रमा प्रधानमन्त्रीलाई घेराबन्दी गर्दै काममा अवरोध खडा गर्ने पार्टी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले कतिपय प्रदेशमा मुख्यमन्त्रीहरूका विरुद्ध अविश्वास प्रस्ताव राखेको बताउँदै यस्ता क्रियाकलापहरूले नवस्थापित सङ्घीय प्रणालीप्रति जनताको विश्वास टुटाउने ओलीले औंल्याएका छन् ।
संघीयताविरोधी पक्षहरूलाई उत्साहित गर्न सहयोग पुर्याउने यस्ता गलत क्रियाकलापहरूको विरोध गर्न उनले पार्टी पंक्तिलाई भनेका छन् । ‘प्रदेशहरूको विशिष्ट परिस्थितिअनुरूप प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिरका सकारात्मक पात्र र शक्तिसँग आवश्यकताअनुसार समन्वय, परामर्श र सहयोग आदान–प्रदान गर्ने । आवश्यकताअनुसार पार्टी केन्द्रमा परामर्श लिने’, उनले निर्देशनमा उल्लेख गरेका छन् ।
Comments