Sajhamanch Archive

इन्टेग्रिटी आइकन २०२० मा छानिए यी पाँच नाम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । अकाउन्टविलिटी ल्याब नेपालले इन्टेग्रिटी आइकन २०२० का प्रस्तावित आइकनहरुको नामावली आज सार्वजनिक गरेको छ । कोभिड– १९ को महामारीले निम्त्याएको चुनौतीका बावजुत भर्चुअल माध्यमबाट इन्टेग्रिटी आइकन २०२० सार्वजनिक गरेको जनाइएको छ ।

इन्टेग्रिटी आइकन २०२० का लागि छनौट भएका व्यक्तिहरुमा आरती थारु, दिपक ज्ञवाली, हेमबहादुर आले मगर, मञ्जु महत र डा.नविन बन्धु पहाडी रहेका छन् । इन्टेग्रिटी आइकन बन्नका लागि देशभरबाट १५०२ वटा मनोनयन प्राप्त भएकोमा निर्णयक समितिले ती पाँचजनालाई छनौट गरेको विज्ञप्तीमा उल्लेख छ ।

सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरणीय काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न र निष्ठापूर्ण समुदाय निर्माण गर्नका लागि थालिएको एउटा खुला अभियान इन्टेग्रिटी आइकन हो । ७ वर्ष अगाडि नेपालबाट सुरु भएको यो अभियान अहिले विश्वका १२ वटा मुलुकमा बिस्तार भइसकेको जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

आइकन निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना सहजीकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काँशीराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेका थिए ।

आइकनका लागि छानिएकी आरती थारु प्युठानजस्तो विकट जिल्लामा सुत्केरी महिलाका लागि उल्लेखनीय काम गरेकी थिइन् । नेपालगञ्ज स्वास्थ्य चौकी जनस्वास्थ्य निरीक्षक रहेकी उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पुर्याउनका लागि बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भूमिका निर्वाह गरेको बताइएको छ ।

अर्का आइकन दिपक ज्ञवाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवलका महाशाखा प्रमुख हुन् । टिमवर्कमा विश्वास गर्ने र जिम्मेवारी बाँडफाँड गरेर काम गर्ने भएकोले उनी कार्यरत कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्दै आइरहेको छनोटकर्ताको बुझाई छ । उनले वनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नुपर्दछ भन्ने कुरा समुदायलाई सिकाएका छन् ।

यसैगरी, कृषकलाई दिगो व्यवसायिक खेतीगर्ने तालिम दिन फार्म, स्कूल सञ्चालनमा ल्याएका हेमबहादुर आले मगर कृषि ज्ञान केन्द्र, ओखलढुंगाका बाली संरक्षण अधिकृत हुन् । उनले वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोतको परिचालन गर्न, कृषकले खेतीगर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आय आर्जन गर्नसक्ने कृषकको समस्या बुझेर समाधान गर्नका निमित्त अगुवा कृषक गोष्ठीको आयोजना गरेका थिए ।

अछामको मंगलसेन नगरपालिकाकी मञ्जु महत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत हुन् । उनले अछाममा घरेलु हिंसा र छाउपडी प्रथा कम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठूलो योगदान गरेकी छन् । यदि कुनै महिलाले घरेलु हिंसाको सामना गरिन् भने सबैले पहिलोपटक सम्झिने नाम मञ्जु महत हो ।

डा. नविनबन्धु पहाडी नीलकण्ठ उच्च माद्यमिक विद्यालय, धादिङका शिक्षक हुन् । उनले आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट वञ्चित नहोउन् भन्नका लागि बाल अनाथ आश्रम सञ्चालन गरेका छन् । त्यस्तै धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय, व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *