सामाजिक कार्य गरेर मनाए खतिवडा दम्पत्तिले रजत विवाह वर्षगाठ
Published:
by .बिर्तामोड । बिर्तामोड–२ का खतिवडा दम्पत्तिले आफ्नो रजत विवाह वर्षगाठ सामाजिक कार्य गरेर मनाएका छन् ।
क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष, रंगकर्मी तथा अभियन्ता माधव कल्पित र क्षितिज नाट्य समूह झापाकी केन्द्रीय उपाध्यक्ष चलचित्रकर्मी तथा कलाकार सुजना खतिवडाले आफ्नो रजत विवाह वर्षगाठ कलाकारीता पुरस्कार स्थापना, मृगौलापीडितलाई सहयोग र कलाकार कल्याणकारी कोषमा रकम सहयोग गरेर मनाएका हुन् ।
बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित कार्यक्रममा क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष, रंगकर्मी तथा अभियन्ता माधब कल्पित र क्षितिज नाट्य समूह झापाकी केन्द्रीय उपाध्यक्ष चलचित्रकर्मी तथा कलाकार सुजना खतिवडाले स्व. पिता अविचन्द्र खतिवडा र स्व. माता रत्नकुमारी खतिवडाको स्मृतिमा गठित अवि–रत्न स्मृति प्रतिष्ठानको नाममा स्थापना गरिएको कलाकारिता क्षेत्र पुरस्कारका लागि ५१ हजार राशीको अक्षयकोष स्थापना गरेको घोषणा गरेका थिए ।
क्षितिज नाट्य समूह झापाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी र विश्व हिन्दू महासंघका धु्रवप्रसाद शिवाकोटीलाई खतिवडा दम्पत्तिले कलाकारिता क्षेत्र पुरस्कारको अक्षयकोषका लागि ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै सरगम संगीतालय बिर्तामोडले स्थापना गरेको कलाकार कल्याणकारी कोषका लागि खतिवडा दम्पत्तिले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।
खतिवडा दम्पत्तिले उक्त रकम सरगम संगीतालय बिर्तामोडका प्रबन्ध निर्देशक दीपक रायमाझीलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै खतिवडा दम्पत्तिले बिर्तामोड–४ का मृगौलापीडित वरिष्ठ बाद्यवादक फुर्वा योञ्जनको उपचारका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम खतिवडा दम्पत्तिले साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, सहसचिव देवीचरण भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
आचार्य पण्डित तुलसीप्रसाद नेपालले वैदिक मन्त्रोच्चारण सँगै बेहुला माधब कल्पित र बेहुली सुजना खतिवडालाई बेहुला–बेहुली बस्नका लागि तयारी अवस्थामा राखिएका विशेष साजसज्जा भएका कुर्सीमा राखेका थिए ।
पण्डित नेपालले दीप, कलश गणेशको पुजन गराउँदै बेहुला माधब कल्पित र बेहुली सुजना खतिवडालाई बिवाहको स्वयम्वर गराउँदै वैवाहिक कार्यक्रममा सहभागी गराएका थिए ।
वैवाहिक कार्यक्रम अन्तर्गत बेहुला माधब कल्पितले र बेहुली सुजना खतिवडाको सिउँदोमा सिन्दुर लगाइँदिँदा झापा नाटकघरको हल तालिले गुञ्जीएको थियो ।।
कार्यक्रममा क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुले रंगकर्मी माधव कल्पितकै रचना रहेको स्वागत गीतले स्वागत गरेका थिए ।
Comments