Sajhamanch Archive

भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुई जनाको गयो ज्यान

Published: in मिडियाबाट साभार, समाज by .

नयाँदिल्ली, ६ माघ । भारतमा कोरोनाविरुद्ध खोप लगाउने अभियान शुरु भएको तेस्रो दिन (सोमबार) सम्ममा तीन लाख ८१ हजार जनाले खोप लगाएका छन् ।

खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनामा नकारात्मक असर ९साइडइफेक्ट० देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये सात जना अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार तीन जना दिल्ली, दुई जना कर्नाटक तथा उत्तराखण्ड र छत्तीसगढमा एक–एक जना अस्पताल भर्ना भएका हुन् । खोप लगाएकामध्ये दुई जनाको मृत्यु भएको जनाइएको छ ।

खोप लगाएका कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कर्नाटक राज्यमा खोप अभियान शुरु भएकै दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउना साथ मृत्यु भएको हो भने उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो व्यक्तिको पोष्टमार्टम रिपोर्ट आइसके पनि पहिलो व्यक्तिको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

रिपोर्ट आएका व्यक्तिको मृत्यु खोपका कारण नभई हृदयाघात र फोक्सोमा समस्याका कारण भएको भारतीय मन्त्रालयको दाबी छ । अर्का व्यक्तिको मृत्युको कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने मन्त्रालयले जनाएको छ ।

भारतमा एक लाखमा झरे सक्रिय संक्रमित
भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित एक लाखको संख्यामा झरेका छन् । गत वर्षको सेप्टेम्बरमा १० लाख २० हजार सक्रिय संक्रमित भएकामा मंगलबार बिहान घटेर एक लाख ९७ हजार ८१८ जना सक्रिय संक्रमित रहेका हुन् ।

सबैभन्दा बढी सक्रिय संक्रमित केरलमा ६८ हजार ३९८ जना रहेका छन् । त्यहाँ संक्रमित बढिरहेका छन् । सबैभन्दा बढी पीडित महाराष्ट्रमा हाल ५० हजार ६८० संक्रमित रहेका छन् । तेस्रो बढी सक्रिय संक्रमित उत्तर प्रदेशमा ८ हजार ६३१ जना रहेका छन् । चौथो बढी कर्नाटकमा ८ हजार ३३ जना सक्रिय संक्रमित छन् ।

सोमबार ९ हजार ९७२ जना नयाँ संक्रमित थपिँदा १७ हजार ११६ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड ५ लाख ८२ हजार ६४७ रहेको छ । निको हुनेको संख्या १ करोड २ लाख २७ हजार ८५२ रहेको छ । सोमबार १३७ जनाको ज्यान गएको छ । अहिलेसम्म १ लाख ५२ हजार ५९३ जनाको ज्यान गइसकेको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *