Sajhamanch Archive

सञ्चारमन्त्री गुरुङद्वारा डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढाउनुपर्ने भएकाले पनि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पारेका हुन् । उनले डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।

“सूचना र प्रविधिको क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रहरुसँग प्रतिस्पर्धा गरेर अघि बढ्नुुको विकल्प छैन” सोमबार मन्त्रालयले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, “सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।”

मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा जोड दिने नीति लिएको पनि स्पष्ट पारेका छन् । सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले त्यसका लागि पनि उपयुक्त वातावरण बनाई दिने काममा सरकारलाई सहयोग गर्न विज्ञहरुलाई अनुरोध गरे ।

मन्त्री गुरुङले एप लञ्च गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको पनि पटक पटक दोहोर्याएका छन् । उनले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुुर्याएको पनि स्मरण गराए ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयको कामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको अवगत गराए । कार्यक्रममा विज्ञहरुले सूचना प्रविधिको विकासका लागि कानूनी, नीतिगत र लगानीमैत्री वातावरण निर्माण गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *