Sajhamanch Archive

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमका सन्दर्भमा विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा उनको सचिवालयको ध्यानाकृष्ट भएको जनाइएको छ ।

आज सचिवालयका तर्फबाट विश्वमणि सुवेदीले प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकृष्ट भएको जनाएका हुन् । राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्यूज पोर्टलमा आज प्रकाशित समाचारमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘विगत केही समयदेखि वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैली माथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन् । राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो ।’

यस्तो समाचार कसरी बन्यो भन्ने सन्दर्भमा सचिवालयले भनेको छ, ‘सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित सचिवालयमा आउनुभएको थियो । ती साथीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो । उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । तर, समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन ।’

विज्ञप्तीमा जनाइए अनुसार नेता वामदेवको नेतृत्वमा भोलि बुधबार (१४ माघ) मा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुँदैछ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ ।

तर, जसरी ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी उहाँको ‘भनाई’ भनी उधृत गरियो, यसलाई हामीले पार्टी एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको रुपमा बुझेका छौँ । एकता अभियानका नेतृत्वकर्तामाथि नै यस्ता भ्रमपूर्ण समाचार प्रवाह गर्नु भनेको एकता विरोधी व्यक्तिहरुले अभियानलाई कमजोर बनाउने दुस्साहस गरेको रुपमा हामीले बुझेका छौँ’ विज्ञप्तीमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *