Sajhamanch Archive

पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्नले उपचार गर्दा एक लाख रुपैयाँ छुट हुने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपाल सरकार स्वास्थ्य सेवा विभागको कार्यक्रम विपन्न नागरिक औषधी उपचार कोषमा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल सूचिकृत भएको छ । गत पुस २१ गते सो सम्बन्धी सम्झौता भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले जानकारी दिएका छन् ।

दक्षिण एशियामा नै अत्याधुनिक उपकरण जडान गरेर क्यान्सरको उपचार गरिरहेको सो अस्पतालले विपन्न नागरिकले सरकारबाट पाउने एक लाख रुपैयाँ बराबरको औषधी उपचार खर्च सुविधावापत सेवा प्रवाह गर्न सुरु गरेको हो ।

आज अस्पतालमा आयोजना गरिएको प्रेस कन्फरेन्समा मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले एक हप्ता अघिदेखि यस्तो उपचार सुविधा प्रदान गर्न थालिएको जानकारी दिए । यो सुविधा अन्तरगत अहिलेसम्म १५ जनाले उपचार सेवा लिएको डा. यादवको भनाई छ ।

नेपाल सरकारले आठवटा प्रकृतिको उपचार गर्न राहत सुविधा दिने गरेको छ । सोही अन्तरर्गत क्यान्सरको उपचारका लागि हरेक नागरिकले जीवनमा एक पटकमात्र उपचार खर्च पाउने गर्दछ । अब बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालबाट यस्तो सुविधा प्राप्त हुन थालेकाले अन्यत्र जान नपर्ने डा. वीरेन्द्र यादवले अवगत गराए ।

विगतमा मुलुक बाहिर गएर क्यान्सरको उपचार गरेको वा गरिरहेको भएपनि स्थानीय सरकारले प्रमाणित गरेको केशलाई यहाँ उपचार गर्दा एकलाख रुपैयाँसम्म सुविधा प्राप्त हुने बताइएको छ । ‘यसरी उपचार गर्दा लागेको रकमको भुक्तानी नेपाल सरकारबाट लिइनेछ’ डा यादवले प्रष्ट पारेका छन् ।

नेपालमा अहिलेसम्म चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल तथा वीर अस्पताल लगायतमा सरकारी सुविधा पाउने व्यवस्था थियो । अब पूर्वाञ्चल क्यान्सर अस्पतालमा सुरु गरिएको हो । विपन्न नागरिक औषधी उपचार कोषको माध्यमबाट उपचार गर्दा भरतपुर अस्पतालकै दररेटमा उपचार खर्च हुने डाक्टर यादवको भनाई छ ।

अस्पतालमा हालसम्म २७ हजार ८०० ओपिडि भिजिट भएको छ भने नयाँ केश भएको बिरामी ३ हजार २०० जना हाराहारीले उपचार गराएको अस्पतालसँग तथ्याङ्क छ । क्यान्सरसँग जोडिएको समस्या समाधानका लागि हालसम्म करिब ३०० जनाको मेजर सर्जरी गरिएको डा. यादवले जनाएका छन् ।

सरकारले क्यान्सर रोगीको उपचारका लागि उपलब्ध गराउने औषधोपचार सुविधा लिन पालिका प्रमुख वा अध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको बैठकले गरेको निर्णय र प्रमुख प्रसाशकीय अधिकृतले हस्ताक्षर गरेको सिफारिस कभरिङ लेटर हुनुपर्ने प्रावधानका बारेमा पनि डा. यादवले प्रष्ट पारेका छन् ।

प्रेस कन्फरेन्सको सहजीकरण गर्दै अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले क्यान्सर रोगी हो भन्ने डाइग्नोसिस पछिमात्र विपन्न पहिचान पत्र आवश्यक हुने जानकारी दिए । उनले विपन्नले प्राप्त गर्ने एक लाख रुपैयाँको उपचार सुविधाभन्दा माथिको उपचार खर्च विरामी पक्षकै हुने पनि प्रष्ट पारेका छन् । अन्यत्र अस्पतालमा यही शीर्षकबाट क्यान्सरको उपचार भइरहेको थियो र पूर्वाञ्चल क्यान्सर अस्पताल आएर सेवा लिँदा बाँकी रहेको रकम उपयोग गर्न मिल्ने जनाइएको छ ।

यसैबीच आगामी माघ २२ गते विश्व क्यान्सर दिवसका दिन बिर्तामोडमा विशेष कार्यक्रम गर्ने तयारी भएको जनाइएको छ । सो दिन बिहान बि एण्ड सी अस्पतालबाट अस्पताल प्रशासन, कर्मचारी, डाक्टर, नर्सहरुसहितको र्याली निस्कनेछ र नगर परिक्रमा पछि नर्सहरूले नाटक प्रदर्शन गर्दै र्याली समापन हुनछ । सोही दिन मध्यान्ह पछि क्यान्सरको उपचारलाई सहज बनाउन, क्यान्सरको कारक चिन्न सरोकारवालाहरु सहभागी गराएर अन्तरसम्वाद गर्ने तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *