Sajhamanch Archive

बक्यौता रकम नतिर्ने ग्राहकको विद्युत् लाइन काटिँदै

Published: (Updated: ) in समाज by .

विराटनगर। नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले बक्यौता रकम बुझाउन बाँकी रहेका ग्राहकको लाइन काट्न सुरु गरेको छ । कोरोनाका कारण लगभग १० महिना लाइन नकाटेको प्राधिकरणले पुस २६ देखि लाइन काट्न सुरु गरेको हो ।

प्राधिकरणका अनुसार लगभग एक महिनाको अवधिमा दुई सय ५० ग्राहको लाइन काटिएको छ । जसबाट एक करोड ६५ लाख रकम सङ्कलन भएको प्राधिकरणका प्रशासकीय अधिकृत भरत केसीले बताए । केसीले भने, ‘बक्यौता रकम झण्डै एक वर्षदेखिको बाँकी छ, बारम्बार सूचना गर्दासमेत बक्यौता रकम बुझाउन ग्राहकले चासो नै देखाउँदैनन् ।’

कोरोनाका कारण लामो समय विद्युत नकाट्दा बक्यौता रकम बढ्दै गएको भन्दै केसी भन्छन्, ‘लाइन काटिएका ग्राहकले तुरुन्तै आएर बाँकी रहेको रकम बुझाउँछन् ।’ लाइन काटिएकामध्ये सबैभन्दा बढी ग्राहक महानगरभित्रका रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बक्यौता रकम तिर्न ६० दिन कटेपछि लाइन काट्ने गरेको छ । बक्यौता रकम तिर्न प्राधिकरणले बारम्बार सूचना निकाल्ने गरेको बताएको छ । तर सूचना निकाले पनि ग्राहकले बेवास्ता गरेको खण्डमा तत्काल लाइन काट्ने गरेको प्रशासकीय अधिकृत केसीले बताए ।

विराटनगर वितरण केन्द्रले चारवटा सबस्टेसनबाट विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बूढीगङ्गा गाउँपालिका र जहदा गाउँपालिकामा विद्युत् वितरण गर्दै आएको छ । उक्त स्थानमा रानी सबस्टेसन, टङ्की सबस्टेसन, कटहरी सबस्टेसन र वाँसबारीबाट विद्युत वितरण गर्दै आएको विराटनगर वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरण कार्यालय विराटनगरका अनुसार उक्त स्थानमा उच्चतम् ८० मेगावाट विद्युत् खपत हुने गरेको छ । प्राधिकरणका अनुसार ३३ केभी फिडरको सङ्ख्या छ र ११ केभी फिडरको सङ्ख्या २२ रहेका छन् । यस्तै प्राधिकरणसँग तीन सय ५० थान ट्रान्सफर्मर रहेको बताएको छ ।

प्राधिकरणका अनुसार यस क्षेत्रका लगभग ९० प्रतिशत घरधुरीले विद्युत सेवा उपभोग गरिरहेका छन् । विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रमा अहिलेसम्म ७२ हजार ९३ ग्राहक सङ्ख्या रहेका छन् । गत वर्ष ६७ हजार ग्राहक सङ्ख्या रहेकोमा यस वर्ष बढेर ७२ हजार ९३ पुगेको प्राधिकरणका प्रशासकीय अधिकृत केसीले बताए । विराटनगर वितरण केन्द्रले महसुलवापत मासिक २४ करोड सङ्कलन गर्ने गरेको छ ।

भोल्टेज कम हुने समस्या समाधान गर्न ट्रान्सफर्मरको क्षमता थप्ने काम भइरहेको केसीले बताए । गत वर्ष एक सय वटा ट्रान्सफर्मरको क्षमता थपिएको र यो वर्ष लगभग ३० ट्रान्सफर्मरको क्षमता थप गरिसकेको केसीले बताए ।

विद्युत चुहावट नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएका कारण गत आर्थिक वर्ष २०७५र७६ को तुलनामा आव २०७६र७७ मा चुहावट नियन्त्रणमा आएको केसीको भनाइ छ । आर्थिक वर्ष २०७५र७६ मा ९ दशमलव ६८ प्रतिशत विद्युत चुहावट रहेकोमा २०७६र७७ मा नौ दशमलव ६१ प्रतिशतमा झरेको केसीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *