Sajhamanch Archive

बालबालिका सम्वन्धी छलफलको निष्कर्षः बाल अधिकार र संरक्षणमा स्थानीय सरकार संवेदनशील हुनु पर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

कमल । बाल अधिकारको सुनिश्चितता र बाल संरक्षणमा स्थानीय सरकार सचेत र संवेदनशील हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको सुनिश्चितता गरेर हरेक स्थानीय सरकारले बालमैत्री वातावरण तयार गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

आज बिर्तामोडमा ‘स्थानीय तहमा बाल अधिकार एवम् बाल विकासका सन्दर्भमा स्थानीय सरकारको भूमिका’ विषयमा भएको छलफलमा त्यस्तो बताइएको हो ।

छलफलको सहजीकरण गर्दै दुई दशकदेखि बाल अधिकारका क्षेत्रमा क्रियाशील नेतृ किडपावर नेपालकी अध्यक्ष सुष्मा पोखरेलले हरेक बालबालिका सुरक्षित वातावरणमा हुर्कन र उनीहरुको विकास हुन पाउनु पर्ने बताइन् । बाल अधिकार र उनीहरुको सुरक्षाका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउँदै पोखरेलले सबै बालबालिकामा बाल अधिकार सुनिश्चितताको प्रत्याभूति गराउँदै बालबालिकालाई सुरक्षा सम्बन्धी विभिन्न सीप समेत सिकाउनु पर्नेमा जोड दिइन् ।

भद्रपुर, बिर्तामोड, कनकाई नगरपालिका र हल्दिबारी, कमल गाउँपालिकाबाट प्रतिनिधित्व गरी आएका बालबालिकाका नेताले बाल अधिकारबारे अझै पनि बालबालिका प्रष्ट हुन नसकेको भन्दै यसबारे अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

बालश्रम, बाल विवाह, बालबालिका माथि हुने सबैखाले हिंसा अपराध भएकाले त्यस्ता अपराध निर्मूल गर्न स्थानीय सरकारसहित सबै सरोकारवालाले ध्यान दिनुपर्ने सहभागीहरुको जोड थियो ।

बालबालिका भविष्यका कणर्धार मात्र नभएर वर्तमानका साझेदार भएकाले उनीहरुको बचाउ, संरक्षण, विकास र सहभागिता महत्वपूर्ण हुने सहभागीहरुको भनाई थियो । बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेलले छलफलमा सहजकर्ताको भूमिका निर्वाह गर्दै बाल अधिकारको सुनिश्चितताका लागि बालमैत्री वातावरण तयार गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताए ।

सञ्चारकर्मी तथा मञ्चका सदस्यहरु उमानाथ भण्डारी, सृजन घिमिरे, नेत्रविक्रम विमली, मनकामनाका प्रधानाध्यापक केशव ढुंगानाले बालबालिकालाई अवसर दिएर सक्षम बनाउनुका साथै बालक्लवको सक्रियता र सुदृढीकरणमा जोड दिएका थिए ।

विभिन्न बालक्लव तथा सञ्जालको प्रतिनिधित्व गर्दै कनकाईका खेमराज चापागाई, भद्रपुरकी भावना पोखरेल, हल्दिबारीका राज अधिकारी, ग्लोरी बाल क्लवकी रक्षा बजगाई, कमलकी प्रितिका सुवेदी, वीर अमरसिंह माविका नयन सिटौला, उज्यालो इडन बालक्लवकी रत्ना राजवंशी लगायतले आफ्नो क्षेत्रमा बाल अधिकारका विषयमा भएका कामको अनुभव सुनाए । संवाद समूहले संयोजन गरेको छलफलको औचित्यमाथि अधिवक्ता खगेन्द्र खरेलले प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *