Sajhamanch Archive

भिमले आधाभूतका विद्यार्थीलाई स्वीटर र जुत्ता वितरण

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

बिर्तामोड । साहित्यकार तथा कलाकार भगवती ढुंगेलले झापाको अर्जुनधारा –१ मा रहेको भिमले आधारभूत विद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई स्वीटर र जुत्ता प्रदान गरेकी छिन् ।

उक्त विद्यालयमा आर्थिक अवस्था न्युन भएका अभिभावकका छोराछोरी मात्र अध्ययनरत् रहेको र उनीहरु जाडोको समयमा एकसरो कपडाको भरमा लुगलुग काम्दै बिद्यालय आउने गरेको थाह पाएर त्यहाँका एक सय ३४ जना विद्यार्थीलाई स्वीटर र जुत्ता प्रदान गरेको उनले बताइन् ।

सामुदायिक विद्यालयहरुमा आर्थिक अवस्था न्युन भएका अभिभावकले आफ्ना छोराछोरी पढाउने गरेकाले जाडोको समयमा उनीहरुलाई बिद्यालय आउन समस्या हुने भएकाले आफूले हरेक वर्षको जाडोको समयमा चार–पाँच वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै आएको साहित्यकार तथा कलाकार ढुंगेलले बताइन् ।

कार्यक्रममा साहित्यकार तथा कलाकार भगवती ढुंगेल, मोडल जनक खड्का, साहित्यकार मातृका संग्रौला, विशाल खड्कालगायतले विद्यार्थीलाई स्वीटर र जुत्ता वितरण गरेका थिए ।
साहित्यकार तथा कलाकार भगवती ढुंगेलले स्वीटर र प्रविन गौतमले जुत्ता उपलव्ध गराएको र सामग्रीको संयोजन लिलानाथ रेग्मी र कार्यक्रमको संयोजन विशाल खड्काले गरेको वताइएको छ ।

कार्यक्रममा आफूहरुलाई सहयोग गर्न आउने दाताहरुलाई विद्यार्थीले फूलमालाले स्वागत गर्दै गीत, नृत्यको माध्यमद्वारा मनोरञ्जन दिलाएका थिए । त्यस्तै साहित्यकार तथा गायक मातृकाप्रसाद संग्रौलाले नाकले मुरली बजाएर मनोरञ्जन दिलाएका थिए ।

सोही कार्यक्रममा स्थानीय मिना राईले टुहुरी विद्यार्थी इन्चा राईलाई आजीवन पढाउन र पालनपोषण गर्न सहयोग गर्ने बताउँदै एक वर्षको शैक्षिक सामग्री , खाजा खर्च प्रदान गरेकी थिइन् भने अन्य विद्यार्थीलाई कापी ,डट्पेन, पेन्सील प्रदान गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक उपेन्द्र गौतमले गरेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीम मंग्रातीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *