भारतको उत्तराखण्ड बाढीः हराइरहेकामध्ये १० जनाको शव निकालियो
Published:
by .काठमाडौं । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि हराइरहेकामध्ये अहिलेसम्म १० जनाको शव निकालिएको छ । २५ जनाको उद्धार गरिएको छ । तपोवनबाट १२ र रैणीबाट १३ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ ।
अझै डेढ सय भन्दा बढी हराइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । उद्धार तथा खोजीका लागि प्रहरी, सेना, स्थानीय नागरिकलगायत झण्डै २५० जनाको टोली खटिएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले एनडीआरएफ, आईटीबीपी र एसडीआरएफको टोलीसँगै वायुसेना तयारी अवस्थामा राखिएको जानकारी गराएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै उत्तराखण्डका मुख्यमन्त्री रावतले ज्यान गुमाएकाका परिवारलाई ४–४ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।
आइतबार दिउँसो उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको थियो । हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । एजेन्सी
Comments