Sajhamanch Archive

झापामा चैत्र २० देखि हात्तीपाइले रोगको औषधी खुवाइने

Published: in समाज, स्वास्थ्य by .

बिर्तामोड । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन आज झापामा पत्रकारसँग अन्तरक्रिया गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न अन्तरक्रियामा हात्तीपाइले रोग निवारणका लागि सरकारले अघि सारेको कार्ययोजना सार्थक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताइयो ।

हात्तीपाइले रोग परजिबी जुकाबाट हुने र लामखुट्टेको टोकाईबाट सर्ने र मानिसलाई कहिल्यै निको नहुने गरी असक्त, अपाङ्ग बनाउने सरुवा रोग भएकाले आम औषधी वितरण अभियान थालिएको पौडेलले बताए ।

झापामा आम औषधी वितरण अभियान यहि चैत्र २० बाट १० दिनसम्म चल्ने उनले बताए । औषधी वितरण जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाका सबै वडाहरु, स्वास्थ्य संस्थाहरु तथा टोलटोलमा संचालन हुने जनाइएको छ । २ वर्ष मुनिका बालबालिका, गर्भवती महिला तथा ७ दिनसम्मका सुत्केरी र ओछ्यान परेका सिकिस्त बिरामीहरु बाहेक सबै व्यक्तिलाई औषधी खुवाउन स्वास्थ्यकर्मीहरु घरघरमा आउने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

फोकल पर्सन चौलागाईका अनुसार जिल्लाभरका ८ लाख ४ हजार ९७ जनालाई ६०० जना तालिप्राप्त स्वास्थ्यकर्मी तथा ६०० जना महिला स्वयम सेविकाद्वारा औषधी खुवाइने कार्यक्रम रहेको छ ।

चौलागाईले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रम गर्नुको औचित्य माथि प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *