Sajhamanch Archive

स्वास्थ्य सामग्रीको भन्सार जाँचपासलाई छिटो बनाउन अर्थमन्त्री पौडलको निर्देशन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडलले निर्देशन दिएका छन् ।

उनले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जालगायत सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरुलाई आग्रह पनि गरे ।

उनले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिमाण र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि उनले निर्देशन दिएका छन् ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *