एमाले हल्दिवारीले विपन्नलाई स्वास्थ्य उपचारदेखि खाद्यान्नसम्म वितरण गर्ने
Published:
by .भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हल्दीवारी गाउँ कमिटीको विशेष बैठकले विश्वव्यापी कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण, उपचार र बन्दाबन्दीको कारणले रोजगारी गुमाउन बाध्य दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न घरपरिवारका नागरिकहरुलाई राहत समेत वितरण गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले हल्दीबारी गाउँ कमिटीका अध्यक्ष हरी गौतमको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका क्षेत्रका कोरोना भाइरस संक्रमणका विरामीहरुलाई हल्दीवारी गाउँपालिका बाहिरका अस्पतालहरुमा उपचारको क्रममा केही कठिनाई आई परेमा आवश्यक सहयोग तथा सहजिकरण गर्ने व्यवस्था मिलाउन पार्टी जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीसंयोजकत्वमा हल्दीबारी इन्चार्ज नरेश चुडाल र जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेल सदस्य रहेको कोरोना संक्रमित उपचार सहयोग तथा सहजीकरण समिति गठन गरेको हो ।
त्यस्तै गरि कोरोना भाइरस संक्रमित व्यक्तिहरुको उपचारमा जिल्ला व्यापी रुपमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै आगामी असार–१४ गते ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दीबारी गाउँ कमिटीको आयोजनामा रक्तदान कार्यक्रम गर्ने, बन्दाबन्दीको कारणले रोजगारी गुमाउन बाध्य दैनिक ज्यालादारी गर्ने गरिव विपन्न परिवारका नागरिकहरुलाई भोकबाट बचाउनका लागि लाभग्राहीहरुको पहिचान गर्न सम्बन्धित वडा कमिटीका इन्चार्ज, अध्यक्ष र सचिव रहेको समिति गठन गरेर सो समितिको सिफारिसको आधारमा गाउँ कमिटीको तर्फबाट खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्ने। अक्सिजनको अभावमा कोरोना संक्रमितहरुको उपचारमा भइरहेको कठिनाइलाई मध्यनजर गर्दै केही थान अक्सिजन सिलिन्डरको व्यवस्थापन गरेर हल्दीबारी गाउँपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गर्ने लगायत निण्र्नय गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।
गाउँपालिका स्तरीय अस्पताल निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढिरहेकाले अस्पताल निर्माण सम्पन्न नहुन्जेलका लागि हल्दीबारी–२ मा निर्माण सम्पन्न भएको जनता आवास कार्यक्रम अन्तर्गतको १३ वटा घर प्रयोग गरेर तत्काल गाउँपालिका स्तरीय आकस्मिक अस्पताल संचालन गर्दै नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम मार्फत नागरिकहरुले पाउने औषधि र उपचारको व्यवस्था मिलाउन गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत भएको अध्यक्ष गौतमको भनाइ छ ।
Comments