नेपालको अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघ्यो
Published:
by .काठमाडौँ । नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघेको छ । यो चालू आर्थिक वर्ष २०७७/७८ को कुल बजेटको आकारभन्दा पनि ठूलो हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब चार अर्ब ६१ करोड रुपियाँ पुगेको हो ।
अघिल्लो जेठको तुलनामा आयात करिब २६ प्रतिशत र निर्यात ३८ प्रतिशतले बढ्दा ११ महिनामै बजेटको आकारभन्दा कुल व्यापार बढी हुन पुगेको हो । सरकारले चालू आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।
कुल व्यापारमध्ये आयातको हिस्सा ९१.९४ प्रतिशत अर्थात् १३ खर्ब ८३ अर्ब ३६ करोड रुपियाँ रहेको छ । त्यस्तै निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ । जुन एक खर्ब २१ अर्ब २५ करोड रुपियाँ हुन आउँछ । कोभिड–१९ सङ्क्रमणको झन् सङ्क्रामक दोस्रो लहरबीच पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारको लय उकालो नै लागिरहेको विभागको तथ्याङ्कले पुष्टि गर्छ । व्यापारसँग सम्बन्धित प्रायः सबै सूचक बढेको पनि विभागको तथ्याङ्कले देखाउँछ ।
कुल व्यापारमा निकै ठूलो हिस्सा रहेको आयातको वृद्धिदर कायम नै रहँदा व्यापार घाटा पनि फराकिलो हुँदै गएको छ । तथ्याङ्कअनुसार गत जेठको तुलनामा यस्तो घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । अघिल्लो जेठमा व्यापार घाटा १० खर्ब १२ अर्ब रुपियाँ थियो । यो खबर गोरखापत्र दैनिकमा छ ।
Comments