परिवार नियोजन संघको नाम फेर्न सुझाव
Published:
by .भद्रपुर । नेपाल परिवार नियोजन संघको नाम परिवर्तन गरी नेपाल परिवार योजना संघ राख्नुपर्नेएक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् ।
संघको ६०औं वर्षगाँठ तथा पाँचौं राष्ट्रिय परिवार नियोजन दिवस २०७५ को अवसरमा मंगलबार झापाको भद्रपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
नेपालमा परिवार नियोजन संघ गठन हुँदाको अवस्था फेरिएर अहिले परिवार नियोजनलाई विकाससँग जोड्नु पर्ने अवस्था आएकोले यस संघको नाम परिवर्तन गर्नुपर्ने वक्ताहरुले सुझाव राखेका हुन् ।
यसको अंग्रेजीमा पनि फेमली प्लानिङ्ग एसोसिएसन अफ नेपाल रहेकोले संघको नाम परिवर्तन गर्न सहभागीहरुले बताए । अन्तरक्रिया कार्यक्रममा संघका पूर्व संयोजक कृष्ण दाहाल, तेजप्रसाद चौंलागाई, लोकनाथ भट्टराईलगायतका सहभागीहरुले धारणा राखेका हुन् ।
सरकारले परिवार नियोजन सम्बन्धी कार्यक्रमहरु जिल्ला जनस्वास्थ्य मार्फत् राख्दै आए पनि अहिले स्थानीय तहमा कार्यक्रमहरु सरेर गए पनि प्रभावकारी हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अधिकृत शशी भट्टराईले जिकिर गरे ।
उनले परिवार नियोजन संघ भनेको बच्चा जन्माउन रोक्ने कार्यक्रमको हिसाबले अहिलेसम्म जनताले बुझेको त्यसलाई चिर्न नसकिएको पनि बताए ।
कार्यक्रममा संघका वरिष्ठ शाखा प्रबन्धक चन्द्रमणि पौडेलले पृथ्वी बचाउने हो भने जनसंख्या व्यवस्थापन गर्नैपर्ने हुन्छ, जनसंख्या व्यवस्थापन गर्न नसक्ने हो भने जतिसुकै विकास गरे पनि त्यसको कुनै अर्थ नहुने बताए ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुधन कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका फिल्ड अफिसर सुजन काप्mलेले गाउँपालिका तहमा अहिले पनि महिलामा हुने यौन रोग अत्यन्त डरलाग्दो भएको जानकारी दिइन् ।
उनले प्रत्येक १० महिलामध्ये ८ जना यौन रोगी भएको बताउँदै महिलाको पाठेघरमा भित्रको इन्फेक्सनको कारण पाठेघरको मुखमा क्यान्सरको खतरा बढ्न सक्ने संशय व्यक्त गरिन् ।
विद्यार्थीलाई परिवार नियोजन बारे चेतना
यसैबीच, पाँचौं परिवार नियोजन दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले विद्यार्थीहरुबीच प्रजनन तथा परिवार नियोजनको महत्वका विषयमा अन्तरक्रिया गरेको छ ।
मंगलबार भद्रपुर ९ स्थित पुहाँतु जनज्योति माविमा कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्राको सहभागितामा सो अन्तरक्रिया गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक शिवराम लुइँटेलको अध्यक्षता एवम् भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका पुष्कर निरौलाले गरेका थिए ।
किशोर किशोरीहरुको सहभागिता, परिवार नियोजनको सुनिश्चितता भन्ने नाराका साथ परिवार नियोजन दिवस मनाउने सन्दर्भमा आयोजना गरिएको सो कार्यक्रममा सहभागी विद्यार्थीले प्रजनन र परिवार नियोजनका विविध विषयमा चासोपूर्वक जिज्ञासा राखेका थिए ।
कार्यक्रममा स्वास्थ्य चौकी चन्द्रगढीका प्रमुख लालबहादुर पन्तले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।
Comments