Sajhamanch Archive

दृष्टिदोष भएका विद्यार्थीहरुका लागि १० विद्यालयमा शिक्षण सिकाईका सामग्रीहरु वितरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by .

दमक । प्रदेश १ का विभिन्न जिल्लामा दृष्टिदोष भएका विद्यार्थीहरुका लागि स्रोत कक्षा संचालन भएका विद्यालयहरुमा उनीहरुको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले टिआरआईएफसी (TRIFC) नामक एक अमेरिकी संस्थाको आर्थिक सहयोगमा स्पर्शशिल शिक्षण सिकाईका सामग्रीहरु वितरण गरिएको छ ।

रोट्याक्ट क्लब अफ दमकले व्यवस्थापन गरेको तथा Ability development Society of Nepal (ADSoN)को आयोजनामा प्रदेश १ का १० वटा विद्यालयहरुलाई स्पर्शशिल शिक्षण सिकाईका सामग्रीहरु वितरण गरिएको हो । जेठ २० र २१ मा भएको कार्यक्रममा सामग्री प्राप्त गर्ने विद्यालयहरुमा गडी मावि पाँचथर, दुर्गा मावि बिर्तामोड (गरामनी) , सरस्वति मावि दमक, पोखरी आधारभूत विद्यालय ईलाम, मार्गदेवी आधारभूत विद्यालय धनकुटा, कबिर मावि बेलबारी, पर्वाञ्चल ज्ञानचक्षु सुनसरी, पञ्च मावि दिक्तेल, ज्ञानज्योति मावि उदयपुर, श्री आधारभूत विद्यालय उदयपुर रहेका छन् ।

दृष्टिदोष भएका विद्यार्थीहरुले स्पर्श गरेर अध्ययन गर्नसक्ने फलफूलका आकृति, जंगली जनवारका डमी, मानव शरीरका विभिन्न अंग, नेपाली र अङ्ग्रेजी भाषाका वर्णहरुका आकार कुँदिएका काठ र प्लास्टिकका सामग्रीहरुसहित शिक्षण सिकाईमा सहयोग पुर्‍याउने सामाग्री प्रदान गरिएको रोट्याक्ट क्लब अफ दमकका संस्थापक अध्यक्ष बिरोध सुबेदीले जानकारी दिएका छन् ।

प्रदेश १ सभाका सभामुखको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापा, उपप्रमुख रेगिना प्रसाईं लगायतको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता ADSoN का अध्यक्ष रबिन्द्रराज पाण्डे ले गरेका थिए भने संचालन पानस अधिकारीले गरेका थिए । कार्यक्रममा आमन्त्रितहरुलाई कार्यक्रम व्यवस्थापनका तर्फबाट रोट्याक्ट क्लब अफ दमकका संस्थापक अध्यक्ष सुबेदीले शाब्दिक स्वागत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै दमकका नगरप्रमुख थापाले दमक नगरभित्र रहेका अपांगता भएका व्यक्तिहरुलाई विशेष कार्यक्रम ल्याउने आश्वासन दिए । कार्यक्रम संयोजक केशरी थापाले यस्तो कार्यक्रमबाट १० विद्यालयमा अध्ययनरत दृष्टिदोष भएका विद्यार्थीहरुमा सिकाई प्रणालीमा सुधार आउने र धेरै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *