विष्णु लक्ष्मी सिटौला प्रतिष्ठानको अक्षयकोषबाट बालकल्याणका विद्यार्थी पुरस्कृत
Published: (Updated: )
by .शिवसताक्षी । विष्णु लक्ष्मी सिटौला प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषबाट शिवसताक्षी वडा नं. ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी पुरस्कृत भएका छन् ।
हरेक वर्ष विद्यालयको वार्षिक परीक्षाबाट उत्कृष्ट ठहरिएका जेहेन्दार छात्र छात्रालाई प्रतिष्ठानले पुरस्कृत गर्दै आएको छ । गत शुक्रबार विद्यालयमा आयोजित विशेष समारोहमा २६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरी हौसाला बढाइएको हो । यस्तै विद्यालयका लागि दुईवटा फुटबल प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण सिटौलाले जानकारी दिए ।
शिवसताक्षी नगरपालिका वडा नं. ५ का नवनिर्वाचित वडाध्यक्ष सिकिन पासवानको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा मन्तब्य राख्दै उनले आफूले ‘कखरा’ सिकेको विद्यालयमा सिटौला परिवारले आमाबुवाको स्मृतिमा पुरस्कार स्थापना गरिदिएकोमा आभार प्रकट गरे ।
उनले सो विद्यालयको भौतिक स्थिति नाजुक भएको, बालबालिकाले विद्यालय आउँदा जाँदा किताब कापीहरु हातमा बोकेर हिंड्नु परेको, धेरैजना खाली खुट्टा स्कूल आउने गरेको, विद्यालय पोशाक पनि कतिपयको फाटेको दृश्यले आफ्नो मन पोलिरहेको भन्दै प्रधानाध्यापक र शिक्षकहरुलाई छिट्टै यस्ता समस्याहरु किनारा लगाउन लागत विवरण पेश गर्न सुझाव दिए ।
उनले भने, ‘योजना बनाउनुस्, बजेटको व्यवस्था म गर्छु । अब यी बालबालिका सबैको स्कूल ब्याग हुनेछ । नयाँ जुत्तासहित सुकिलो पोशाक लगाएर विद्यालय आउनेछन् । अंग्रेजी माध्यमबाट अध्यापन गरेर नमूना विद्यालय बनाउन म लाग्नेछु, तपाईंहरु साथ दिनोस् ।’
कार्यक्रमको आवश्यकता र औचित्य बारेका अक्षयकोषको संस्थापक तथा संरक्षक नरेन्द्रप्रकाश सिटौलाले आफ्ना धारणा राखेका थिए । उनका अनुसार बाबुआमाको स्मृतिमा स्थापित अक्षयकोषको ब्याजबाट वितरण गरिने पुरस्कारले बालबालिकामा थप उर्जा प्राप्त हुनेछ । बितेको दुई वर्ष कोरोना महामारीका कारण विद्यालयहरु पनि ब्यवस्थित ढंगले सञ्चालन हुन नसकेकाले पुरस्कार वितरण गर्न नसकिएको अवगत गराउँदै उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम पनि आगामी वर्षदेखि गर्ने बताए ।
प्रतिष्ठानको अक्षयकोषका अध्यक्ष रामकृष्ण सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोष संस्थापक परिवारबाट कार्यक्रममा सहभागी व्यक्तित्वहरु तथा वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बालबालिकालाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई विद्यालयका प्रधानाध्यापक दधिकुमार गणेशले शाब्दिक स्वागत गरेका थिए भने अध्यक्ष रामकृष्ण सिटौलाले धन्यवादसहित सहभागीप्रति आभार व्यक्त गरेका थिए ।
सोही कार्यक्रमका बीच विद्यालयबाट सेवा निवृत्त पूर्वप्रधानाध्यापक बुद्धिमान बुढाथोकीलाई विदाई गरिएको थियो । करिब २८ वर्ष सो विद्यालयमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका बुढाथोकी केही समय अघि उमेरका हदले अनिवार्य सेवानिवृत्त भएका थिए ।
सोही अवसरमा आधारभूत विद्यालयबाट माद्यमिक विद्यालय अध्ययन गर्न गएका कक्षा ८ उत्तीर्ण विद्यार्थीहरुलाई पनि विदाई गरिएको थियो । यस्तै विद्यालय परिवारले शिवसताक्षी वडा नं. ५ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई सम्मान पनि ब्यक्त गरेको थियो ।
Comments