Sajhamanch Archive

प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधी सिद्धार्थ सेकेण्डरी स्कूललाई

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा by .

सुन्दरहरैंचा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधी मोरङको सुन्दरहरैँचामा रहेको सिद्धार्थ सेकेण्डरी स्कूलले हात पारेको छ ।

पोखरामा भएको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको फाइनलमा सात वटा प्रदेशका विद्यालयका नृत्य प्रतियोगीलाई पछि पार्दै मोरङको सिद्धार्थ सेकेण्डरी स्कूलका विद्यार्थी प्रथम भएका हुन् ।

सिद्धार्थ सेकेण्डरी स्कूलले सुन्दरहरैँचा नगरस्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम, मोरङ जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम, प्रदेश नं. १ स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम हुँदै पोखरामा भएको प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगितामा भाग लिएको प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिए ।

सिद्धार्थका १६ जना विद्यार्थीले नृत्य प्रशिक्षक सुनिल थापाले गीत खोजी अनुसन्धान गरेको तथा कोरियोग्राफी गरेको लोपोन्मुख किसान जातिको डाँटा नृत्य प्रस्तुत गरेका र प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सोही नृत्य प्रथम भएको उनले बताए ।

उक्त प्रतियोगितामा सिद्धार्थ सेकेण्डरी स्कूलले प्रथम भएर एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम भएर सुन्दरहरैँचा नगरपालिकाको गौरव बढाएको महसुस गरी सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ दिने घोषणा गरेको प्रिन्सिपल बस्नेतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *