Sajhamanch Archive

सहारा नेपाल साकोसः कृषकका घरघरमा प्राविधिक पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । कृषि र पशुपालनमा आफ्ना सदस्यहरुलाई उद्यमी बनाउन अग्रसर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय पशु स्वास्थ्य तथा कृषि सम्बन्धी घरदैलो अभियान चलाएको छ ।

सहारा नेपाल साकोस अन्तरगत एग्री विजनेश युनिटले पहिलोपटक आफ्ना उद्यमी सदस्यहरुको घरदैलोमा नै गएर पशुको स्वास्थ्य जाँच एवम् कृषि बालीमा देखिएका समस्याहरुको पहिचान र निराकरणको प्रयास गरेको हो ।

पूर्वी नेपालको ६ वटा जिल्ला कार्यक्षेत्र रहेको सहारा नेपाल साकोसले चुरे क्षेत्रका सदस्यहरुलाई पुँजी र प्रविधिमा लगानी गरेर बाख्रापालन गरी प्रदेश १ लाई खसीको मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै क्रियाशील रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको भनाई छ ।

यसैको पूर्णताका लागि पशुपालक उद्यमी सदस्यहरुलाई प्राविधिक तालिम दिने, पशु चौपायाको बीमा गरिदिने, सदस्यले उत्पादन गरेको खसी बोका जिउँदै किनेर बजारीकरण गरिदिने सम्मका काम संस्थाले नै गर्दै आएको छ ।

सहारा नेपाल साकोस एग्री विजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले गत आर्थिक वर्षमा संस्थाले करिब १० करोड मूल्य बराबरका ७ हजार ७८ वटा पशु चौपायाको बीमा गरिदिएको तथा ८ हजार ५३४ केजी जिउँसो खसीको बजारीकरण गरिदिएको जानकारी दिएका छन् ।

पशु स्वास्थ्य तथा कृषि सम्बन्धी घरदैलो अभियान लिएर भदौ ३० गते मेचीनगर नगरपालिका अन्तरगत बौद्धमोड शाखाको कार्यक्षेत्र बाहुनडाँगीको सिरानमा अवस्थित गाडागल्ली पुगेका डा. भाटले त्यहाँका बाख्राहरुमा परजिवीको संक्रमण रहेको बताए । त्यहाँका बाख्रा, पाठा र खसी बोकाहरुमा सन्तुलित आहाराको कमीका कारण कुपोषण धेरै भएको उनको भनाई छ ।

युनिटको टोलीले बाख्राको खोरमा नै पसेर रोगको पहिचान गरी त्यसको उपचार गर्ने तथा औषधी वितरण गर्दै आएको छ । आफ्ना उद्यमी किसानको सुरक्षाका लागि प्राविधिक सहयोग गर्ने काम सहाराले पहिलेदेखि नै गर्दै आएको हो ।

सहारा नेपाल साकोस बौद्धमोड सेवाकेन्द्रको कार्यक्षेत्रका सदस्यहरुलाई पशुपालन तथा बागबानीका लागिमात्र करिब तीन करोड रुपैयाँ कृषि कर्जा लगानी गरेको शाखा प्रमुख भावना अधिकारीले जनाएकी छन् । एग्री विजनेश युनिटले पशु स्वास्थ्य तथा कृषि सम्बन्धी घरदैलो अभियान लिएर आफ्नो कार्यक्षेत्रमा आउँदा कृषकलाई धेरै फाइदा पुगेको तथा सदस्य बिस्तारमा पनि बल पुगेको शाखा प्रमुख अधिकारीको भनाई छ ।

सहारा नेपाल साकोस अन्तरगत एग्री विजनेश युनिटले गत आर्थिक वर्षमा १४ हजार ६१९ जना सदस्यलाई प्राविधिक सेवा प्रवाह गरेको तथ्याङ्क छ भने २१ हजार २३ वटा पशुलाई पिपिआर र खोरेत विरुद्धको खोप लगाएको पाइएको छ । यस्तै संस्थाले ४८ वटा सदस्य स्तरीय तालिम सञ्चालन गरेको तथा १८ वटा बाख्रापालन समूह थप गरेको जनाइएको छ ।

पशु स्वास्थ्य तथा कृषि सम्बन्धी घरदैलो अभियानको औचित्य बारे बालीविज्ञ राजेन्द्र खरेलले बालीनालीमा भएका समस्याहरुको सही पहिचान गर्ने र उपचारका लागि प्राविधिक सहयोग गर्ने उद्देश्यले अभियान चलाइएको बताएका छन् । सो क्षेत्रमा सुपारीको डाँठ कुहिने समस्या धेरै पाएको उनले पहिचान गरेका छन् ।

सहारा नेपाल साकोस अन्तरगत एग्री विजनेश युनिटले यो वर्ष आफ्नो कार्यक्षेत्रका करिब ३० हजार पशुपंक्षीको स्वास्थ्य जाँच गर्ने गरी कार्यक्रम तय गरेको युनिट प्रमुख डाक्टर भाटले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *