इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित भवनको उद्घाटन
Published:
by .बेलबारी । इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवनको उद्घाटन गरिदिएका हुन् ।
भवन उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने बताए । प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको उनको भनाई छ ।
मन्त्री कार्कीले प्रहरी चौकीका भवन मात्रै नभएर विकासका हरेक गतिविधि संघीयतासँगै चलायमान हुँदै गएको पनि जिकिर गरेका छन् ।
सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दहालले सुरक्षाका लागि प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताउँदै प्रदेश सरकार आएपछि प्रहरीको सुरक्षाका साथै भवनको निर्माण तथा व्यवस्थापन अनुभूति हुने गरी काम हुन थालेको तर्क गरे ।
प्रदेश १ का प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४सै घण्टा ड्युटीमा रहनुपर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।
प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित २ करोड २९ लाख १३ हजार २७६ रुपैयाँ २५ पैसाको लागतमा साढे २ तले कार्यालय भवन निर्माण भएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी, स्थानीयबासी लगायतको उपस्थिति थियो ।
Comments