झापा क्षेत्र नं. २ को वडास्तरमा एमाले–राप्रपाको संयुक्त निर्वाचन परिचालन समिति बनाइँदै
Published:
by .बिर्तामोड । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर २ मा वडास्तरमा संयुक्त निर्वाचन परिचालन समिति बनाउने क्रमलाई निरन्तरता दिएका छन् ।
आज बिहीबार बिर्तामोड नगरपालिका वडा नं. ३ र ४ का छुट्टाछुट्टै स्थानमा भएका संयुक्त भेलाबाट वडास्तरीय निर्वाचन प्रचार तथा परिचालन समिति बनाइएको बिर्तामोड नगर कमिटीका इन्चार्ज देवराज कार्कीले बताएका छन् ।
उक्त भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले भारतले हडपेको नेपाली भूमि माथि दावी गर्दै केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले राजनीतिक नक्सा सार्वजनिक गरेकोमा उनकै नेतृत्वमा अब बन्ने सरकारले जमिन नै फिर्ता ल्याउने दावी गरेका छन् ।
नेकपा एमाले र राप्रपासहितको तालमेलबाट बनेका उम्मेदवारलाई जिताएर मुलुकको गुमेको भूमि फिर्ता ल्याउन सकिने किसिमको उपलब्धी हात लाग्ने उनको दावी छ । निर्वाचन मार्फत जनतालाई सचेत गर्न सकिने र सरकार मार्पmत जनताको पक्षमा नियम कानूनहरु बनाउँदै देशलाई समृद्व बनाउन सकिने भएकाले एमालेको जीत आवश्यक रहेको एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार घिमिरेको धारणा छ ।
उक्त कार्यक्रमहरुमा क्षेत्र नं. २ प्रदेशसभा (क) उम्मेदवार उम्मेदवार एकराज कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा स्वतन्त्र उम्मेदवारको कुनै औचित्य नहुने जिकिर गरेका थिए । जुनसुकै सरकार निर्माणमा बहुमत आवश्यक पर्ने भन्दै स्वतन्त्र कहिल्यै बहुमत हुन नसक्ने ठोकुवा गर्दै नीति निर्माणको तहमा एक दुईजना स्वतन्त्र प्रतिपक्षमा बस्नुको केही औचित्य नहुने पनि प्रष्ट पारे ।
निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका कार्कीले माननीय हुँदा आफूले प्राप्त गरेको बजेटबाट आफ्नो क्षेत्रमा देखिने गरी उल्लेख्य काम गरेको सुनाए । भौतिक विकास निर्माणदेखि शैक्षिक क्षेत्र, सामाजिक क्षेत्र एवम् धार्मिक क्षेत्रमा यथेष्ट बजेट ल्याएर समाज रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको प्रष्ट पारे ।
प्रदेशसभा सदस्य उम्मेदवार कार्कीले देशको समृद्धि एवम् विकासका लागि नेकपा एमालेको नेतृत्वमा सरकार बन्नैपर्ने विगतका कामहरुले पनि देखाइसकेको स्मरण गराएका छन् ।
Comments