बिर्तामोडमा ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल सुरु
Published:
by .बिर्तामोड । दशैँको अवसर पारेर बिर्तामोडमा आइतबारदेखि १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
२८ असोजसम्म सञ्चालन हुने प्रथम बिर्तामोड ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको आयोजना हाम्रो एकता युवा समाज नेपालले गरेको हो । प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा जलथल एफसी हल्दिबारी विजयी भएको छ । बिर्तामोड २ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा जलथलले धुलाबारी फुटबल एकाडेमीलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
जलथलका तर्फबाट विवेक शिलिङले २ तथा तान्छोकहाङ लिम्बू र सञ्जोग भुजेलले एक–एक गोल गरे । धुलाबारीका तर्फबाट मिसेन सुब्बाले सान्त्वना गोल फर्काए ।
खेलको म्यान अफ द म्याच विजयी टोलीबाट दुई गोल गर्ने विवेक शिलिङ घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत सोमबारको खेल दमक ट्रेनिङ सेन्टर दमक र मुनाल क्लब चन्द्रगढीबीच हुनेछ । प्रतियोगितामा झापाका उत्कृष्ट ८ टीमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
खेलले युवामा स्वस्थ प्रतिस्पर्धी भावनाको विकास गराउने भएकाले दशैँको अवसर पार्दै खेलको आयोजना गरिएको अध्यक्ष पौडेलको भनाई छ । खेलको विजेता टिमले नगद ३५ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उपविजेताले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट फरवार्डलाई समेत नगद ३ हजार रुपैयाँका दरले पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
हाई स्कोरर र म्यान अफ टुर्नामेन्टलाई नगद ४ हजार प्रदान गरिने सचिव लक्ष्मी घिमिरेले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार नगद पुरस्कार दिने आयोजकले बताएको छ ।
Comments