झापामा जिउँदो माछा पर्याप्त, व्यापारीहरु कृतिम अभाव सिर्जना गर्दै (भिडियोसहित)
Published: (Updated: )
by .बिर्तामोड । झापाका माछापालक किसानहरुले प्रदेश १ का उपभोक्ताहरु माछामा आत्मनिर्भर रहेको दावी गर्दै भारतबाट फर्मालिन हालेको गुणस्तरहीन माछा आयात रोक्नुपर्नेमा फेरि पनि आव्हान गरेका छन् ।
कात्तिक १ गतेदेखि झापाका स्थानीय सरकारले नै मरेको माछा बिक्रीमा प्रतिबन्ध गरिसकेको अवस्थामा माछा ब्यापारीहरुले फर्मबाट जिउँदो माछा खरिद नगरी अभाव देखाउन थालेको सन्दर्भमा आज उक्त आव्हान गरिएको हो ।
स्थानीय एक पत्रिकामा माछा ब्यापारीहरुले विज्ञप्ती छपाएर कृतिम अभाव देखाउन खोजिरहेको भन्दै नेपाल माछापालन किसान संघ झापाले पत्रकार सम्मेलनमार्फत् उक्त कुराको खण्डन गरेको हो ।
नेपाल माछा पालन किसान संघ प्रदेश नम्बर १ का वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी र झापा अध्यक्ष होम सिटौलाले संयुक्त विज्ञप्ती प्रकाशन गरेर भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेका हुन् । संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले पंगास जातको माछा झापामा मागभन्दा बढी उत्पादन भइरहेको जनाए । झापा कार्प जातको माछामा समेत आत्मनिर्भर बन्नेतर्फ अगाडि बढिरहेको उनीहरुको भनाई छ ।
कृषिथोक बजारमा रहेका माछा व्यापारीहरुले विषादीयुक्त गुणस्तरहीन मरेको भारतीय माछाको बिक्री गर्न पाउनुपर्ने माग राखेको र बजारमा कृतिम अभाव देखाउन विगत दुई दिनदेखि किसानसँग माछा नकिनेको झापा अध्यक्ष सिटौलाले बताए ।
किसानहरुले नेपाल मै उत्पादन भएको जिउँदो माछा भारतीय माछाभन्दा सस्तो मूल्यमा खरिद गर्न पाउँछन् । तर व्यापारीहरु अस्वस्थ्यकर माछा नै बेच्न पाउनु पर्ने माग किन राखिराखेका छन् भन्नेतर्फ उपभोक्ता अधिकारवादी संस्थाहरु, प्रहरी प्रशासन र स्थानीय सरकार समेतले खोजी गर्नुपर्ने सिटौलाले आवश्यकता दर्शाएका छन् ।
कार्यक्रममा सहभागी रारा कृषि फर्मका सञ्चालक कपिल न्यौपानेले वैधानिक तवरबाट भारतीय माछा नेपाल ल्याउँदा नेपाली जिउँदो माछाभन्दा महंगो पर्ने बताए । भारतीय माछाहरु भारतीय सीमा नजिकको बजारमा ल्याएर ग्रेडिङ गरिने र सड्न लागेको माछा सस्तो मूल्यमा अवैध ढंगबाट नेपाल भित्राउने गरेको संगीन आरोप माछा उत्पादक किसानहरुको छ । पैसाको लोभमा माछा व्यापारीले जनस्वास्थ्य माथि खेलबाड गरिरहेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
व्यापारीले भनेजस्तो कार्प जातको माछा झापाका कम उत्पादन भएपनि अन्य जिल्लाहरुमा प्रशस्त उत्पादन भइरहेकोले भारतीय मरेको, फर्मालिनयुक्त अस्वस्थ्यकर माछाको साटो नेपालमै उत्पादित जिउँदो माछा बिक्री गर्न व्यवसायीहरुलाई कार्यक्रममा सहभागी किसानहरुले आग्रह गरे । व्यापारीहरुले कृतिम अभाव सिर्जना गरिरहे किसानहरु आफैँले कृषिथोक बजारमा स्टल राखेर माछा बिक्री गर्ने वरिष्ठ उपाध्यक्ष शिवाकोटीले चेतावनी पनि दिएका छन् ।
बाह्रदशीस्थित मनिला मत्स्य फार्मका सञ्चालक रुद्रबहादुर बिष्टले किसान माथि व्यवसायीहरुले सिण्डिकेट खडा गरेको गुनासो गरे । नेपाली किसानहरुलाई व्यापारीहरुले निरुत्साहित गर्न खोजेको उनले बताए । व्यापारीहरुमा राष्ट्रिताप्रतिको भावना हुनुपर्ने उनको भनाई छ । किसानहरुका अनुसार झापामा करिब ५०० मत्स्यपालक किसानहरु रहेका छन् ।
Comments