काँग्रेस–बाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त
Published:
by .भद्रपुर । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दलका रूपमा रहेको काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले झापा क्षेत्र नम्वर १ मा मतदाता भेटघाट अभियान सुरू गरेको छ ।
तिहार सकिए लगत्तै गठबन्धन सम्बद्ध प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको टोलीले झापा १ अन्तरगत प्रदेश १ तथा २ ले आ—आफ्ना क्षेत्रमा पर्ने वडागत बस्ती बस्तीमा गएर मतदाता भेट अभियान तीब्र बनाएका हुन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको कामको शिलसिलामा राजधानी काठमाडौ भए पनि प्रदेशका उम्मेदवारले चुनावी अभियान तीब्र गतिमा सञ्चालन गरिरहेको जनाइएको छ ।
झापा सदरमुकाम चन्द्रगढीदेखि उत्तरी झापाको बाहुनडाँगीसम्म फैलिएको निर्वाचन क्षेत्र नं. १ मा मतदाता भेटघाट कार्यक्रम रफ्तारमा चलिरहेको बताइएको छ ।
प्रदेश १ (१) का उम्मेदवार नेपाली कांग्रेसका गोपाल तामाङको नेतृत्वमा एउटा टोली र प्रदेश १ (२) का उम्मेदवार माओवादी केन्द्रका श्यामबीर लिम्बू नेतृत्वको अर्को टोलीको घरदैलो चलिरहेको हो । उनीहरुको साथमा समानुपातिक उम्मेदवार कालुराम मेचेको सहभागिता छ ।
उम्मेदवारहरू ५ वर्षसम्म यस क्षेत्रको सेवक बन्ने अवसर प्रदान गर्न मतदातासँग आग्रह गरिरहेका छन् । मेचीदेखि देउनियाँसम्मको माटोमा कृषिको उन्नति, उन्नत मल बिऊ, चन्द्रगढीदेखि बाहुनडाँगी बुधबारे जोड्ने रिङरोडको सपना बाँडिरहेका छन् ।
कृष्णथुम्की र चन्द्रगढको पर्यटकीय विकास लगायत ग्रामीण सडक, पिउनेपानी, स्वाथ्य उपचार केन्द्रको स्तरीकरण, विद्यालय, महाविद्यालयको समयानुकुल स्तरीकरण लगायत जनजीविकाका सवालहरुमा सबै राजनीतिक दलका उम्मेदवारहरु मतदाता भेटिरहेका छन् ।
Comments