Sajhamanch Archive

प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन, कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ । थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उहाँलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उहाँलाई निमोनियासमेत भएको थियो । उहाँको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य बन्नुभएको थियो । थापाका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ ।

कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन

यसैबीच, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि आज बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगको निर्णय अनुसार भोलि कात्तिक २४ र पर्सी २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दावी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ ।

‘२०७९/८/४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मिति २०७९/६/२३ देखि निर्वाचन कार्यक्रम सञ्चालन भइ उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेको छ’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

यसैबीच मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयबाट मिति २०७९/७/२३ को पत्रमार्फत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र नंं. १ बाट प्रदेश सभाका लागि नेपाली कांग्रेस पार्टीका उम्मेदवार शेखरचन्द्र थापाको मिति २०७९/७/२३ गते मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारका लागि निर्वाचन कार्यक्रम तय गरी पठाइदिन अनुरोध भइ आएको सन्दर्भमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार २४ र २५ गतेभित्र उम्मेदवारी मनोनयनको काम सम्पन्न गर्ने गरी आयोगले तालिका फेरबदल गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *