Sajhamanch Archive

बीएन्डसीले सुरु गर्यो आफ्नै स्वास्थ्य बीमा कार्यक्रम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विर्तामोड । बीएन्डसी हस्पिटलमा ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । आजदेखि लागू भएको बीएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ ।

बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आफ्नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको घोषणा गर्दै चार जनासम्मको परिवारले ६ हजार रुपैयाँ प्रिमियम भुक्तानी गरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था रहेको जानकारी दिएका छन् ।

बीएन्डसी हस्पिटल र प्रभु इन्सुरेन्स लिमिटेडको सहकार्यमा यो बीमा लागू गरिएको हो । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. निराजन प्रसाई र प्रभु इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले शुक्रबार हस्पिटलको सभाहलमा एक कार्यक्रमबीच उक्त बीमा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बज्राचार्यले आर्थिक अभावले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर संयुक्त रुपमा बीमा कार्यक्रम ल्याइएको र यसमा बिमित परिवारका सदस्यले बिना झञ्झट उपचार सेवा पाउने ग्यारेन्टी गरिएको बताए ।

नेपालभर यो बीमा कार्यक्रम लागू हुने तर उपचारका लागि बीएन्डसीमा नै आउनु पर्ने सम्झौतामा उल्लेख छ । बीमा गरेका परिवारका सदस्यले प्रभु इन्सुरेन्सको शाखामार्फत देशभर जहाँसुकैबाट बीमा गर्न पाउने र उपचारका लागि नगद बोकेर अस्पताल जानु नपर्ने ‘क्यासलेस सर्भिस’ उपलब्ध गराइएको प्रभु इन्सुरेन्सका विर्तामोड शाखा प्रमुख नारायण लुइँटेलले जनाए ।

यो बीमा कार्यक्रममा बीमा गराउने, बीमाको पोलिसी दिने र उपचारको रकम भुक्तानी गर्ने आधिकारिक निकाय प्रभु इन्सुरेन्स लिमिटेड रहेको र बीएन्डसी हस्पिटलले अभिकर्ताको रुपमा बीमाका सदस्य बनाउने र बिना झञ्झट उपचार सेवा प्रदान गर्ने हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताएका छन् ।

“बीमा गराउने निकाय प्रभु इन्सुरेन्स हुनेछ भने हाम्रो बीएन्डसी उपचार प्रदान गर्ने निकाय हुनेछ,” हस्पिटलका जनसम्पर्क अधिकृत गिरीले बीमा कार्यक्रमका बारेमा जानकारी दिँदै भनेका छन् – “यो बीमा कार्यक्रममा सहभागी परिवारका सदस्यले बीएन्डसीमा उपचार सेवा लिन कतैबाट सिफारिस लिनुपर्दैन र कुनै लाइनमा बस्नु पनि पर्दैन । सीधै हस्पिटल आएर उपचार सेवा लिन सक्नुहुनेछ ।”

बीमा कार्यक्रमको प्रिमियम बुझाएका सदस्यहरुले तीन महिनापछि उपचार सेवा पाउनेछन् । हरेक वर्ष नवीकरण गर्न सकिने व्यवस्था रहेको बताइएको छ । बीमा अन्तर्गत बीएन्डसी हस्पिटलको ओपीडी सेवा, इमर्जेन्सी सेवा, अन्तरंग सेवा, प्याथोलोजी सेवा, रेडियोलोजी सेवा र शल्यक्रिया सेवा पाउने व्यवस्था छ । तर, औषधि भने बीमा कार्यक्रमबाट उपलब्ध नहुने गिरीले बताए ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीसहित देशभरबाट आगामी एक वर्षमा एक लाख परिवारलाई ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ कार्यक्रमको सदस्य बनाउने लक्ष्य राखिएको उनले बताए । पूर्वाञ्चल क्यान्सर अस्पतालको उपचार सेवा भने यो बीमा कार्यक्रममा समेटिएको छैन ।

हाल बीएन्डसी हस्पिटलमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू छैन । सरकारी स्वास्थ्य बीमा अन्तर्गत उपचारमा खर्च भएको करोडौं रकमको भुक्तानी दिन स्वास्थ्य बीमा बोर्डले आनाकानी गरेपछि बीएन्डसीले बाध्य भएर सरकारी बीमा कार्यक्रम बन्द गर्नुपरेको हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाई बताउँछन् ।

‘आम नागरिकले सिफारिस, लाइन आदिको झञ्झट बेगर बीमाको उपचार सेवा पाउन सकुन् भनेर हाम्रै परिकल्पना अनुसार यो नयाँ कन्सेप्टको बीमा कार्यक्रम लागू गरेका छौं’ प्रसाईले भनेका छन् –‘आशा छ सबै क्षेत्रबाट सकारात्मक सहयोग र सद्भाव प्राप्त हुनेछ । एक वर्षको अनुभवपछि आगामी दिनमा बीमा अन्तर्गत पाउने उपचार सुविधाको दायरा अझ फराकिलो बनाउन हामी लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *