आर्थिक मन्दीको मारमा श्रमिक पनि, रोजगारदाताको पनि अवस्था बुझ्न व्यवसायीको आग्रह
Published: (Updated: )
by .बिर्तामोड । बढ्दो आर्थिक मन्दीको मारमा मुलुकको श्रमिक बजार परेको सरोकारवालाको निश्कर्ष छ । आर्थिक मन्दीको मारमा उद्योग, व्यवसाय राम्ररी चल्न नसक्दा ठूलो संख्यामा श्रमिकहरुको रोजगारी खतरामा परेको आज आइतबार विर्तामोडमा सम्पन्न एक कार्यक्रमका सहभागीले बताएका हुन् ।
यूनिकम नेपालले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले मुलुकमा उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने नीति अब बन्ने सरकारले लिनुपर्ने उनीहरुको जोड छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले सरकारले चाँडै बैंकको कर्जाबारे उद्योगी, व्यवसायीलाई सहज हुने नीति ल्याउनुपर्ने माग गरे ।
उनले उद्योग व्यवसाय नै धराप भए त्यसमा आश्रित ठूलो संख्याको श्रमिक कामविहीन हुनसक्ने बताए । वर्तमान अवस्थाको समस्या समाधानका लागि उद्योगी, व्यवसायीसँगै श्रमिकले पनि सरकारलाई दबाब दिनुपर्ने अध्यक्ष ढकालको धारणा छ ।
महासंघ प्रदेश १ का सदस्य विनोद बस्नेतले श्रमिकको अधिकारको मात्र कुरा गर्दा उद्योगी व्यवसायीको पनि समस्याबारे जानकारी राख्न जरुरी रहेको बताए । उनले मुलुक आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको र यस्तो अवस्थामा श्रमिकको रोजगारी कसरी बचाउन सकिन्छ भन्ने बारे पनि बहस, छलफल हुन जरुरी रहेको भनाई राखे ।
महासंघ प्रदेश सदस्य प्रशान्त भण्डारीले रोजगारदाता र श्रमिकबीचको समस्या समाधानमा यूनिकम नेपालले खेलेको भूमिकको प्रशंसा गरे । उनले यूनिकम नेपालको समन्वयमा झापाका विभिन्न स्थानमा रोजगारदाता र श्रमिकबीच उत्पन्न समस्याहरु सहजरुपमा समाधान भएको जानकारी गराए ।
यूएनआई ग्लोबल यु्नियनका कार्यक्रम संयोजक तिलकजंग खड्काले विश्व बजारमा जस्तो रोजगारदाता र श्रमिक बीचको सम्बन्ध सधैं सुमधुर हुनुपर्नेमा जोड दिए । उनले रोजगारदाताको व्यवसाय चलेमात्र श्रमिकले रोजगारी पाउने भएकाले सोही अनुसार आफ्ना माग सम्बोधन लगायतका कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा रोजगारदाता र श्रमिकको सम्बन्ध बढाउने गरी नियमित संवादका कार्यक्रमहरु आवश्यक रहेको यूनिकम नेपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले बताए । उनले प्रदेश १ का रोजगारदाता र श्रमिक बीच आगामी दिनमा कुनै बाधा अवरोध बिना समस्याका लागि चाँडै प्रदेशस्तरीय सामाजिक संवाद कार्यक्रम गर्न लागेको जानकारी दिए ।
Comments