सहारा नेपाल साकोसले ३० करोड रुपैयाँ सेयर बोनस र संरक्षित पुँजीकोषमा वितरण गर्ने
Published:
by .झापा । देशकै ठूलो मध्येको एक सहकारी संस्था, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को वार्षिक साधारणसभा आज मंसीर २१ गतेदेखि सुरु भएको छ ।
आजदेखि सुरुभएको एकाईगत साधारणसभा मंसीर २७ गतेसम्म सञ्चालन हुने सहारा नेपाल साकोसका निर्देशक लक्ष्मण खतिवडाले बताएका छन् । उनका अनुसार संस्थाको ७९ वटा सेवा केन्द्रमध्ये १७ वटामा सदस्य संख्या धेरै भएकाले २–२ दिन एकाईगत साधारणसभा हुनेछ भने अन्तिम माइन्युट प्रमाणित साधारणसभा पुष ९ गते गर्ने कार्यसूचि छ ।
सहारा नेपाल साकोसमा १ लाख ५९ हजार ७७८ सेयर सदस्यहरु छन् भने १ अर्ब ६३ करोड रुपैयाँ सेयर पुँजी रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले कर्जा तथा सापटीतर्फ १३ अर्ब परिचालन गरेको छ भने विभिन्न कोषहरुमा १ अर्ब ११ करोड रुपैयाँ संचित रहेको छ ।
प्रतिवेदन अनुसार संस्थाको निक्षेप ९ अर्ब ८५ करोड, सम्पत्ती ४१ करोड, बाह्य ऋण १ अर्ब ७२ करोड र अन्य कोषहरुमा ४५ करोड रहेको छ । गत आर्थिक वर्षमा सहारा नेपालले सम्पूर्ण करहरु पछि ४९ करोड रुपैयाँ मुनाफा कमाएको छ । संस्थाका निर्देशक खतिवडाका अनुसार सहारा नेपालले समीक्षा वर्षमा सेयर बोनस र संरक्षित पुँजीकोषबाट सदस्यहरुलाई ३० करोड रुपैयाँ वितरण गर्नेछ ।
संस्थाले आज २१ गते चन्द्रगढी, चारपाने र शिवगञ्जमा रहेका बैंकिङ सेवा केन्द्रका सदस्य माझ छलफल गरेको छ भने भोलि २२ गते बिहीबार चारपाने, बिर्ताबजार, बिर्तामोड र बुधबारे सेवा केन्द्रका सदस्यहरुबीच छलफल गर्ने साधारणसभाको कार्यसूचिमा उल्लेख छ । योसँगै लघुवित्त तर्फका १० वटा सेवा केन्द्रहरुमा आज र ११ वटा सेवा केन्द्रहरुमा भोलि साधारणसभा अन्तरगत छलफलको कार्यसूचि छ ।
सहारा नेपालको कार्यक्षेत्र ६ वटा जिल्लामा फैलिएको छ भने ५१५ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले गत आर्थिक वर्षमा सामाजिक सुरक्षा अन्तरगत ज्येष्ठ सदस्य, एकल महिला–पुरुष, मृत्यु राहत, कोभिड सहायता, ऋण मिनाह र स्वास्थ्य उपचार सेवा गरी १५ हजार ८२१ जनालाई १६ करोड ४४ लाख ७१ हजार ४३० रुपैयाँ प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
‘दिगो स्रोतको लागि बचत पहिला’ थिमलाई कार्यान्वयन गर्दै संस्थाले आगामी ३ वर्षभित्र आफ्नै आन्तरिक स्रोतको परिचालनबाट आत्मनिर्भर दिगो स्रोतको सुनिश्चितता गरिने सदस्य सचिव महेन्द्रकुमार गिरीले प्रतिवेदनमा उल्लेख गरेका छन् । यसको लागि पहिलो प्राथमिकता बचत बृद्धिलाई दिइने र यसैवर्ष सर्वोत्कृष्ट र डबल धमाका बचत सेवा सुरु गरिएकाले सबै बचतका प्रोडक्टहरुलाई व्यापक रुपमा प्रवद्र्धन गरिने उनको भनाई छ ।
सदस्य सचिव गिरीले आफ्नो प्रतिवेदनमा सहाराको विश्वस्तरीय सञ्जाल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । संस्थाको कार्यक्षेत्रभित्रका शेयर सदस्य र तिनको परिवारका सदस्यहरु रोजगारीको शिलशिलामा विदेशमा रहेको भए समन्वयका लागि अन्तर्राष्ट्रिय च्याप्टर बनाउन आवश्यकता महसुस गरिएको छ ।
संस्थाका नियमित सूचना, जानकारी आदान–प्रदान, वित्तीय परामर्श सेवा तथा विदेशमा रहेकाहरुले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको प्राविधिक ज्ञानको प्रयोग, सामाजिक तथा विपद्को अवस्थामा सहयोग जुटाउने उद्देश्यका साथ अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय च्याप्टर गठन गरिने गिरीको प्रस्ताव छ ।
Comments