प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्विरोध, मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने, शनिबार उपसभामुखको चुनाव
Published:
by .मोरङ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते शुक्रबार (भोलि) विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले ६० जना सांसदको समर्थन लिएर गत आइतबार प्रदेशप्रमुख समक्ष दावी गरेपछि उनी नियुक्त भएका थिए । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको उनलाई समर्थन छ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी भएको छैन ।
माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेका छन् ।
सरकारमा सहभागिताका लागि आलोपालोको अड्को थापिरहेको माओवादी केन्द्रलाई अफठ्यारोमा पार्नका लागि कार्कीले विश्वासको मत लिन आवश्यक ठानेको बताइएको छ । ‘माओवादीले थापेको अड्कोलाई चिर्न सुरुमै विश्वासको मत लिन खोजिएको हो, तर भागवण्डाको समस्याा पनि सामधान भइहाल्छ’ मुख्यमन्त्री निकट एमाले नेताको भनाई छ ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी भने सरकारलाई सहज रुपमा काम गर्नका लागि बेलैमा विश्वासको मत लिने तयारी भएको बताउँछन् । ‘विश्वासको मत लिने विषय संसदको बिजनेश हो’ उनले भने, ‘संसदको विजनेश चाँडै सके सरकारले आफ्नो विजनेशका लागि समय पाउँछ ।’
संसदको विजनेस सकेपछि केही दिन प्रदेशसभा बैठक स्थगित हुने उनले बताए । प्रदेशसभाका लागि चाँडै विजनेश दिन विश्वासको मत अगाडि नै लिन खोजिएको प्रमुख सचेतक भण्डारीले बताए ।
प्रदेश १ को सभामुखको निर्वाचन आज सम्पन्न भइसकेको छ । सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् । भोलि शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने र पर्सी शनिबार उपसभामुखको निर्वाचन गर्ने तयारी छ ।
उपसभामुखको निर्वाचनका लागि आज बिहीबार नै मनोनयन दर्ता गर्ने कार्यसूची छ । सत्तारुढ गठबन्धनबीच भागवण्डा गर्दा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भएको थियो ।
सभामुख पुरुष भएका कारण उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको आकांक्षी हुन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन् ।
Comments