Sajhamanch Archive

एमाले केन्द्रीय कमिटी बैठकमा आज र भोलि प्रतिवेदन प्रस्तुति पछि समूहगत छलफल गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको छ । बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नुका साथै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी अध्यक्ष ओलीले सम्बोधनका क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किन नहुने बताएको उल्लेख गरेका छन् । निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे त्यसको कडा विरोध गरिने अध्यक्ष ओलीको भनाई थियो ।

यो प्रकरण ढाकछोप गर्न, रोक्न नसक्ने गरी सतहमा छताछुल्ल भएपछि कारबाही प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटमा आफूले दोषीलाई कारवाही हुनुपर्ने र निर्दोष नफसुन् भन्ने कुरामा ध्यान दिन आग्रह गरेको बैठकमा जानकारी गराएका थिए ।

एमाले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउने काम नहोस् । भ्रष्टाचारका विषयलाई राजनीतिक प्रतिशोधको अस्त्र बनाउनु हुँदैन’ भनी सरकारको ध्यानाकर्षण गराइएको पनि उल्लेख छ ।

यस प्रकरणको अनुसन्धानलाई सहयोग गर्नका लागि पक्राउ पूर्जी काटिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको एमालेको भनाई छ ।

नेपालीलाई राज्यविहीन बनाउने र विदेश पठाउने मानिस देशद्रोही भएको बताउँदै अध्यक्ष ओलीले यस प्रकरणमा यसअघि समातिएका व्यक्तिलाई किन छाडियो ? गतवर्ष जेठमा सरकारले नै यो प्रकरण दबाउनका लागि पीडितहरूको उजुरीउपर कारबाही नगरी पैसा फिर्ता गराएर मुद्दा मिलाउने प्रयास गरेको अहिले खुलेको छ । त्यसबेला प्रधानमन्त्री र गृहमन्त्री को थियो ? यो दुनियाँलाई थाहा भएको विषय हो भनी दोषी उम्कन नसक्ने बताएका छन् ।

महासचिव शंकर पोखरेलले तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा छलफल हुने विषयहरू (एजेण्डा) प्रस्तुत गरेका थिए । बैठकमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन कार्ययोजना बनाइने धारणा राखेका विज्ञप्तिमा उल्लेख छ ।

आजको बैठकमा केन्द्रीय निकायहरू सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायले गरेका कामका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी, पार्टीले सञ्चालन गरेको दुईमहिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का विषयमा भूगोलका पाँच प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरे ।

सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गरेको जनाइएको छ ।

गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले भोलि प्रस्तुत गर्ने कार्य सूचि छ ।

यसरी प्रस्तुत सबै प्रतिवेदनहरु माथि समूह विभाजन गरी छलफल गरिने भएको छ । समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्ने विभागका सचिव विष्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *