Sajhamanch Archive

श्रीजय ड्रिमल्याण्ड पार्कमा लिची महोत्सव : खान पाउनेभन्दा फाल्नेहरु धेरै

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, by .

झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ६ गतेदेखि लिची महोत्सव गरिएको छ । ड्रिमल्याण्ड पार्कका संस्थापक जयनारायण ढुङ्गानाले एक दशक अघिदेखि यस्तो महोत्सव सञ्चालन गर्दै आएको बताएका हुन् ।

महोत्सव सञ्चालन गर्नुको उद्देश्य पैसा कमाउन नभई विदेशमा सिकेको रमाइलो कुरालाई आफ्नै ठाउँमा अवलम्बन गरेको साझामञ्चसँगको भेटमा बताए । उनले भने, ‘१०–१२ वर्ष अगाडि आफू अमेरिका घुम्न गएको समयमा विभिन्न फेस्टिबलमा सहभागी हुने अवसर पाएकोले त्यहाँ आफूले देखेको र सिकेको कुरा आफ्नै ठाउँमा प्रयोग गरेर अरुलाई पनि प्रेरित गर्न बर्सेनी यस्तो फेस्टिबल सञ्चालन गर्दै आएको हुँ ।’

सञ्चालक ढुंगानाले उदाहरणीय काम गरेको बताए पनि केही उपभोक्ताहरुको व्यवहारका कारण पछि आएका लिची पारखीहरु मारमा परेको पाइएको छ । लिची महोत्सव सञ्चालन भएको थाहा पाएर बोटबाटै टिपेर खानको लागि टिकट काटेर पार्कभित्र छिर्दा छक्क परेको बिर्तामोडकै सिता थापा बताउँछिन् ।

किन ? भन्ने प्रश्नमा उनी भन्छिन् ‘तीन दिनको महोत्सव शुरु भयो भन्ने थाहा पाएर आज घुम्न आएको बोटमा त लिची नै छैन । कतै कतै स–साना दानाहरु मात्र रहेछन् । बारीभरि लटरम्मै छ भनेर आइयो यहाँ त बोटको फेदमा आधासरो खाएर फालेका दानामात्र रहेछन् । २०० रुपैयाँ तिरेर पार्कमा पसेको बरु बाहिर नै किनेर खाएको भए हुने रहेछ ।’

त्यस्तै अर्का लिची पारखी बिर्तामोडकै सविना संग्रौलाको पनि ग‘नासो उस्तै पाइयो । जे सोचेर आइएको थियो, त्यस्तो रहेन, लिची छिटै सकिएछ । तर पनि राम्रो राम्रो खाजेर खाँदैछु ।

कचनकबलबाट लिची महोत्सवमा सहभागी बन्न आएका हरि लम्साललाई पार्कभित्र पस्ता रमाइलो लागेको छ । भन्छन् ‘पहिलो पटक पार्क हेर्न आइयो, २०० मा लिची खान पनि पाइने र हरियाली हेर्न पनि पाइने भएकोले मलाइ त राम्रै लाग्यो ।’

महोत्सवको दोस्रो दिन नै पारखीहरुले लिची खान नपाएको सम्बन्धमा पार्कका संस्थापक ढुङ्गाना भन्छन्, ‘सबैलाई खुसी बनाउन अलि गाह्रै हुनेरहेछ । हिजो सहभागीहरुले लिची टिप्दै आधि खाँदै फाल्दै गरेको पाइयो । हाँगा भाँचेर पनि लिची टिपेको देखियो । कति खाने हो त्यसको दोब्बर टिपेर खाइ नसकेपछि छोडेर गएको पनि पाइयो । त्यही भएर पनि दोस्रो दिन नै बेखुसी बढेको हो ।’

संस्थापक ढुंगानाले थपेका छन्, ‘सबै मानिसले बुझ्न जरुरी छ कि बिरुवा हुर्काएर फल्ने बनाउन धेरै समय लागेको छ । फूल फुलेदेखि पाक्ने अवस्थासम्म बनाउन धेरै मेहेनत र खर्च भएको छ । तर मानिसलाई बुझाउन अलि कठिन नै छ ।’

लिची महोत्सवमा सहभागीहरुले घर जाँदा पनि खाली जान नपरोस् भनेर पार्कको गेटमा राखेको लिची, कटहर जस्ता फलहरु सुपथ मूल्यमा खरिद गर्न पाउने ब्यवस्था पनि थियो । तीन दिनको महोत्सवको पहिलो दिन उल्लेख्य सहभागिता रहेको थियो भने बाँकी दुई दिन सामान्य मात्रामा लिचीका पारखीहरु आएको संस्थापक ढुंगानाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *