Sajhamanch Archive

झापा कांग्रेसले वडा वडामा जिल्ला प्रतिनिधि खटाउने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

झापा । नेपाली कांग्रेस झापाले जिल्ला पदाधिकारी र सदस्य मनोनयन पश्चात विभागीय समिति गठनको पूर्वतयारी सुरु गरेको छ ।

जिल्ला सभापति देउकुमार थेवेको सभापतित्वमा आज शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सम्पन्न जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको विस्तारित बैठकले आगामी जेठ २५ गते भित्र विभागीय समितिमा मनोनयन गर्नुपर्ने नामहरु टुङ्गो लगाउने निर्णय गरेको जनाइएको छ ।

क्षेत्रीय सभापतिले मातहतका पार्टी इकाई समितिहरुसँग छलफल गरी विषय विज्ञताका आधारमा विभागमा मनोनित हुने सदस्यहरुको नामावली लिखित रुपमा पेश गर्नुपर्ने निर्णय भएको सचिव कृष्ण हुमागाईंले जनाएका छन् ।

त्यसैगरी गत वैशाख २० गते मनोनित जिल्ला सदस्यहरुलाई कार्य योजना र जिम्मेवारी तोकेर जिल्लाका १३१ वटै वडामा जिल्ला प्रतिनिधिका रुपमा खटाउने समेत निर्णय भएको छ ।

यसरी खटिएका जिल्ला प्रतिनिधिहरु आफ्नो क्षेत्र तथा पालिकाका सम्वन्धित वडाहरुमा खटिएको वा नखटिएको तथा अन्यत्र खटिएका प्रतिनिधिहरु सम्वन्धित वडामा पुगे नपुगेको विषयमा सम्वन्धित पार्टी समितिले अनुगमन गर्ने र त्यसको जानकारी जिल्ला सचिवालयमा गराउनु पर्ने निर्णयसमेत भएको छ ।

कांग्रेसबाट स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधि र पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको अन्तरक्रियात्मक संयुक्त छलफल कार्यक्रम यही जेठ महिनाभित्र आयोजना गरिने भएको छ ।

अन्तरक्रियामा बजेट कार्ययोजना तर्जुमा र पार्टी र जनप्रतिनिधिहरुको बीचमा समन्वय गर्दै विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा भर्खरै मनोनित कोषाध्यक्ष जलकुमार गुरुङलाई पार्टी सभापति थेवेले खादा ओढाएर स्वागत गरेका थिए । वैठकको सञ्चालन जिल्ला सचिव कृष्ण हुमागाईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *